• २५ कात्तिक २०८२, मङ्गलबार

राष्ट्रिय एआई केन्द्र स्थापना

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राष्ट्रिय एआई केन्द्र उद्घाटन गर्नुहुँदै ।

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठुलो फड्को मारेको बताउनुभएको छ । मन्त्री खरेलले राष्ट्रिय एआई केन्द्रको सोमबार उद्घाटनका क्रममा उक्त कुरा बताउनुभएको हो । 

मन्त्री खरेलले एआई केन्द्रको स्थापनासँगै नेपाल डिजिटल नेपालको बाटोमा अघि बढेको सन्देश गएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “एआई केन्द्रको यो सुरुवात हो, यसलाई निरन्तर रूपमा अगाडि बढाउँछौँ । एआई नीति आइसकेको छ । 

एआई काउन्सिल पनि गठन भइसकेको छ । आजकै दिनदेखि एआई केन्द्रले आफ्नो कार्य प्रारम्भ गर्ने छ ।” उहाँले जेनजी आन्दोलनका क्रममा सुशासन र भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवर्तनको सन्देशमा एआईले जोड्ने विश्वास व्यक्त गर्नुभयो । डिजिटल माध्यमद्वारा सार्वजनिक तथा निजी क्षेत्रको कामलाई सहज बनाउने उद्देश्य केन्द्रको रहेको छ ।

कोषमा आबद्ध गरिने

मन्त्री खरेलले सबै मिडियालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न मन्त्रालयमै एक समिति गठन गरेको जानकारी दिनुभएको छ । नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँगको सोमबारको भेटमा मन्त्री खरेलले पहिलो चरणमा सरकारी, दोस्रो चरणमा निजी सञ्चार माध्यमलाई कोषमा समावेश गर्ने तयारी गरिएको प्रस्ट पार्नुभयो । मन्त्री खरेलले आफ्नो कार्यकालभर सबै मिडियालाई कोषमा लगेर पत्रकारिता पेसालाई व्यवस्थित बनाउने दाबी गर्नुभयो । मन्त्री खरेलले सञ्चारसम्बन्धी कानुन बनाउँदा पत्रकार महासङ्घसँगै परामर्श गरेर ल्याउने बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहोस् भन्नेमा सरकार प्रतिबद्ध रहेको उहाँले विश्वास दिलाउनुभयो । “जेनजी आन्दोलनमा घाइते पत्रकारको निःशुल्क उपचारको व्यवस्था गरिने छ । क्षति भएका मिडियालाई क्षतिपूर्तिको व्यवस्था मिलाउन प्रयास गरिएको छ । मृत्यु भएका सुरेश रजकका परिवारलाई रोजगारी दिने निश्चित भइसकेको छ । अर्को महिनाबाट रोजगारी सुनिश्चित हुने छ,” उहाँले भन्नुभयो । 

नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले लामो समयदेखि पत्रकारको पारिश्रमिक वृद्धिदेखि पेसागत सुरक्षा हुन नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो । सरकारले गर्ने 

कार्यप्रति मिडियालाई रचनात्मक रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । महासङ्घले मन्त्री खरेललाई आठबुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो ।