• २४ कात्तिक २०८२, सोमबार

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

blog

निजगढ, कात्तिक २४ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका-१, भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन् । 

प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार वन क्षेत्रबाट राजमार्गमा निस्किएको जङ्गली हात्तीले ना. ४ ख. १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको थियो । ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई राजमार्गदेखि केहीभित्र जङ्गलमा हात्तीले आक्रमण गरेको थियो । 

घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक तामाङ, डिभिजन वन कार्यालयका प्रमुख राजिव झासहित सुरक्षा निकायका प्रमुखहरू हात्ती प्रभावित क्षेत्र गएका छन् । हात्ती जङ्गल पस्ने र राजमार्गमा निस्कने गरेका कारण दिनभर उक्त क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । 

हात्तीलाई धपाउन अनेकौँ प्रयास गरे पनि सफल हुन सकेको छैन । हात्ती जङ्गल पसेका बेला सुरक्षाकर्मीको सहयोगमा रोकिएका सवारी साधनलाई पठाउने गरिएको प्रहरी उपरीक्षक तामाङले बताउनुभयो । हात्तीले आइतबार रातिदेखि नै उक्त क्षेत्रमा उपद्रो मच्चाइरहेको छ । राजमार्गमा राति करिब १० बजे हात्ती देखिएपछि नेपाली सेना, नेपाल प्रहरीको टोलीले राति नै भगाएको थियो । 

डिभिजन वन कार्यालयका प्रमुख झाले हात्ती नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली आउँदै गरेको बताउनुभयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंहले हात्तीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भइरहेको बताउनुभयो । रासस