• २४ कात्तिक २०८२, सोमबार

अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

blog

वासिङ्टन, कात्तिक २४ गते । अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४० औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ । सदनले पारित गरेको खर्च विधेयकलाई अगाडि बढाउने वा नगर्ने निर्णय गर्दै सरकार पुनः सञ्चालन गर्ने बाटो खुलाउने उद्देश्य रहेको छ ।

सिनेटमा निरन्तर प्रस्ताव अघि बढाउन कम्तीमा ६० मत आवश्यक रहेको छ । यो द्विदलीय सहमतिलाई केन्द्रमा राखिएको प्रयासले हप्तौँ लामो गतिरोध अन्त्य गर्ने सम्भावना देखाएको छ । सिबिएस न्युजका अनुसार मतदानअघि सिनेटमा एउटा सहमति भएको थियो जहाँ कम्तीमा आठ डेमोक्रेट सिनेटर कोषसम्बन्धी प्रस्तावलाई समर्थन गर्न तयार थिए । यो सहमति सिनेट रिपब्लिकन, मध्यमार्गी डेमोक्रेट र ह्वाइट हाउसबिचको केही दिनदेखिको वार्ताबाट सम्भव भएको हो ।

सिनेटका बहुमतका नेता जोन थुनले सदनद्वारा पारित प्रस्तावलाई अघि बढाउने र त्यसपछि ‘मिनीबस’ भनेर चिनिने व्यापक विनियोजन प्याकेजमार्फत लामो अवधिको सरकारी कोष विस्तार गर्ने रणनीति तयार पारिरहनुभएको छ । सिनेटका विनियोजनकर्ताले आइतबार तीन दीर्घकालीन खर्च विधेयकको पाठ सार्वजनिक गरे । 

उक्त विधेयकले जिओपीको सटडाउन समाधान योजनाको आधार बनाएको छ । सिएनएनका अनुसार यो सम्झौता सिनेटका नेता थुन, ह्वाइट हाउस र डेमोक्रेटिक सिनेटर जीन शाहिन (न्युह्याम्पशायर), म्यागी हसन (न्युह्याम्पशायर) र स्वतन्त्र सिनेटर एङ्गस किङ (माइन) बिच भएको हो । सम्झौतामा डेमोक्रेटको पुरानो माग अनुसार स्वास्थ्य बिमा कर क्रेडिट विस्तार गर्ने भविष्यको मतदानसमेत समावेश गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पत्रकारसँग कुरा गर्दै सटडाउन अन्त्य हुने आशा प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सटडाउनको अन्त्य नजिकै छौँ । हामीले अवैध आप्रवासीलाई कुनै पनि रकम दिने सहमति गरेका छैनौँ र मलाई लाग्छ डेमोक्रेटले अब यो बुझिसकेका छन् । चाँडै नै समाधान हुने छ ।” 

सिएनएनका अनुसार सम्भावित सम्झौताले सरकार पुनः सञ्चालन गर्न अस्थायी ‘स्टपग्याप’ उपायमार्फत जनवरीसम्म कोष विस्तार गर्ने छ । यो प्रमुख सङ्घीय एजेन्सीलाई बजेट प्रदान गर्ने ठुलो विनियोजन प्याकेजसँग जोडिएको छ । आइतबार साँझ ८:३० देखि ९ बजे (स्थानीय समय) बिच मतदान हुने अपेक्षा गरिएको थियो ।

सिनेटका डेमोक्रेटिक नेताले अहिलेसम्म सार्वजनिक रूपमा सहमत समर्थन जनाएका छैनन् । तर हाउस डेमोक्रेटले प्रस्तावित सम्झौताप्रति कडा आलोचना गर्दै सोमबारका लागि आफ्नै ककस बैठक बोलाएका छन् । यदि प्रस्ताव पारित भयो भने सिनेटले हाउस-पारित स्टपग्याप विधेयकमाथि मतदान गर्ने छ । कम्तीमा आठ डेमोक्रेटको समर्थन जुटेपछि यसमा व्यापक कोष प्याकेज समावेश गरी अन्तिम पारितिका लागि पुनः सदनमा पठाइने छ ।

दुवै सदनबाट अनुमोदन भएपछि विधेयक राष्ट्रपति ट्रम्पको डेस्कमा पुग्ने छ, जसले एक महिनाभन्दा बढी समयदेखि सङ्घीय सेवा क्षतविक्षत भएको सटडाउन अन्त्य गर्ने छ । यद्यपि, सम्पूर्ण प्रक्रिया पूरा हुन अझ केही दिन लाग्ने देखिन्छ । रासस/एएनआई