अनिल पराजुली
हेटौँडा, कात्तिक २४ गते । सरकारी स्वास्थ्य संस्थामार्फत सेवा लिने सेवाग्राहीहरूको सङ्ख्या बढ्दै गएको छ ।
जिल्लामा रहेको सरकारी अस्पताल मार्फत दैनिक सरदर ९१० जना सेवाग्राहीले स्वास्थ्य सेवा लिनुभएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
आर्थिक वर्ष २०८१–८२ मा मा सम्पादित स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको सोमबार हेटौँडामा भएको जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा अघिल्लो आव २०८०–८१ को तुलनामा गत आव २०८१–८२ मा सेवा लिनेको सङ्ख्यामा बढोत्तरी भएको हो ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेका अनुसार आव २०७९–८० मा दैनिक ५५४ र आव २०८०–८१ मा ८१९ जनाले सरकारी अस्पतालबाट दैनिक सेवा लिएकोमा गत आवमा बढेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य संस्था, नगर स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र र महिला स्वास्थ्य स्वयम् सेविकामार्फत सेवा लिने सेवाग्राहीको सङ्ख्या पनि बढ्दै गएको उहाँले समीक्षा कार्यक्रममा जानकारी दिनुभयो ।
त्यस्तै सुत्केरी भएपश्चात् एक वर्षभित्र परिवार नियोजनको साधन प्रयोग गर्ने दर पनि बढेको छ । आव २०७९–८० मा ४.८, आव २०८०–८१ मा १२.५ भएकोमा गत आव २०८१–८२ मा बढेर १६.७ प्रतिशत पुगेको छ ।
गत आवमा जिल्लामा एक जनामा औलो देखिएको थियो । जिल्लामा १९ जनामा कुष्ट रोग देखिएकोमा ११ जना उपचारमा रहेका छन् । जिल्लामा ९ हजार ५५९ जनाको एचआइभी परीक्षण गरिएकोमा ४० जना पोजेटिभ फेला परेका छन् ।
३२८ जनाले नियमित औषधी सेवन गरिरहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै नसर्ने रोगहरूको पनि जोखिम बढेकोमा समीक्षा कार्यक्रममा चिन्ता व्यक्त गरिएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले उद्घाटन गर्नुभएको समीक्षा कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख जनस्वास्थ्य प्रशासक किरण श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईँ, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।
कात्तिक २५ गतेसम्म चल्ने समीक्षा कार्यक्रममा जिल्लाका दस वटै स्थानीय तहका स्वास्थ्य प्रमुखले कार्य प्रगति प्रस्तुत गर्नुहुने जनस्वास्थ्य निरीक्षक वासुदेव रिमालले जानकारी दिनुभयो ।