• २४ कात्तिक २०८२, सोमबार

सङ्घाराम क्षेत्र पहिचानमा, बौद्ध भिक्षु र उपासकको चासो

blog

सम्भावित सङ्घाराम क्षेत्र ।

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, कात्तिक  २१ गते  । पश्चिम नवलपरासीमा  भगवान् गौतम बुद्धको एक मात्र मौलिक अष्टधातु रहेको ऐतिहासिक रामग्राम स्तुपसँगै जोडिएको महत्त्वपूर्ण पुरातात्विक तथा बौद्ध स्थल  सम्भावित सङ्घाराम क्षेत्र पहिचानमा आएपछि त्यहाँ बौद्ध भिक्षु तथा उपासकहरूको गतिविधि र चासो बढ्न थालेको छ ।

यो सङ्घाराम क्षेत्रलाई रामग्राम स्तुपकै एक महत्त्वपूर्ण अङ्ग र उत्तिकै महत्त्व बोकेको प्राचीन स्थल मानिएको छ।  स्थानीय रामग्राम(१७ का वडाध्यक्ष कन्हैया मौर्यले पुरातत्व विभागले सङ्घाराम क्षेत्रलाई बौद्धकालिन प्राचीन स्थल पहिचान गरी बोर्ड राखेदेखि नै बुद्धसँग सरोकार राख्नेहरूको चासो बढेको बताउनुभयो ।

भिक्षु सङ्घले आराम वा विश्राम गर्ने स्थानलाई सङ्घाराम भनिन्छ। प्राचीनकालमा यहाँ हजारभन्दा बढी भिक्षुहरूले विश्राम गर्ने गरेको अनुमान छ । सङ्घाराम नजिकै पाँच विघाभन्दा बढी क्षेत्रफलमा सरोवर (पोखरी), साना पोखरीहरू तथा इनारहरू समेत देखिएका छन्, जुन भिक्षुहरूलाई स्थान (नुहाउन) गर्नका लागि बनाइएको थियो। साथै, प्राचीन आवासहरूको पर्खालहरू समेत भेटिएका छन्।

रामग्राम स्तुप अवस्थित रहेको देउरवा गाउँ र हाल पहिचानमा आएको सङ्घाराम क्षेत्र रहेको देवगाव को सिमाना भलुहीखोलाले छुट्ट्याएको छ। रामग्राम विकास कोषका सदस्य तथा पुरातत्वका जानकार नारद यादवका अनुसार बुद्धको अस्ति रहेको कोलिय राजाद्वारा निर्मित रामग्राम स्तुप नजिकै वरिपरिमा सङ्घाराम हुनुपर्ने बौद्ध परम्पराअनुसार नै रामग्राम १७ देवगावको प्राचीन स्थललाई सङ्घारामको रूपमा अनुमान गरी अनुसन्धान थालिएको हो।

प्राचीन अभिलेख अनुसार, स्तुप उत्खनन गर्न आएका सम्राट अशोकले नागवंशीहरूको आग्रहमा रामग्राम स्तुपको उत्खनन गरेनन्, बरु स्तुप क्षेत्र देउरवामा बौद्ध विहार र देवगावमा सङ्घाराम निर्माण गर्न लगाएको तथ्यले यस क्षेत्रको ऐतिहासिकतालाई थप बलियो मान्न सकिन्छ ।

मौर्यकालीन मगधको राजधानी पाटलिपुत्रको कुक्कुटुर सङ्घराम नष्ट भएजस्तै पुष्यमित्र सङ्घका सेनाले रामग्रामको सङ्घाराम (देवगाव) का भिक्षुलाई पनि मारेर भगाएको हुन सक्ने अनुमान गर्नुभएको छ, जसले यो स्थलको ऐतिहासिक महत्त्वलाई थप रहस्यमय बनाएको छ।

विश्व सम्पदा सूची र संरक्षणको लक्ष्य

यस क्षेत्रका स्थानीयहरूले यति महत्त्वपूर्ण स्थानको सरकारी स्तरबाटै संरक्षण, विकास र प्राचीन संस्कार तथा संस्कृतिको प्रवर्धन आवश्यक रहेको औंल्याएका छन् । सङ्घारामको पहिचानपछि अब यस क्षेत्रमा पनि बौद्ध भिक्षुहरूको गतिविधि बढाउने योजना रहेको बताइएको छ।

रामग्राम स्तुप आफ्नो मौलिक अवस्थामा अवस्थित एकमात्र बुद्धको अस्तुधातु भएको स्तुप हो।विश्वसम्पदा सूचीको प्रक्रियामा रहेको रामग्राम स्तुप क्षेत्रमा युनेस्को र पुरातत्व विभाग सँग मिलेर थप काम गर्दै अगाडि बढ्ने रामग्राम विकास कोषको लक्ष्य रहेको छ।

गौतम बुद्धको एक मात्र मौलिक अष्टधातु रहेको ऐतिहासिक रामग्राम स्तुपसँगै जोडिएको महत्त्वपूर्ण पुरातात्विक तथा बौद्ध स्थल सङ्घाराम क्षेत्र पहिचानमा आएपछि त्यहाँ बौद्ध भिक्षु तथा उपासकहरूको गतिविधि र चासो बढ्न थालेको छ।

हालै भिक्षु निपुन सहितको उपासक टोलीले रामग्राम नगरपालिका वडा नं. १७ स्थित उक्त क्षेत्रको अध्ययन अवलोकन गरेका छन्। यो सङ्घाराम क्षेत्रलाई रामग्राम स्तुपकै एक महत्त्वपूर्ण अङ्ग र उत्तिकै महत्त्व बोकेको प्राचीन स्थल मानिएको छ।