काठमाडौँ, कात्तिक २४ गते । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गर्नुभएको छ ।
विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राखी आयोजना प्रभावितले मुहान बन्द गर्दा काठमाडौँ उपत्यकाकामा खानेपानी ल्याउन रोकिएपछि सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गनुभयो ।
प्रधामन्त्री शुशीला कार्कीले सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो । हाल खानेपानी मन्त्रालयका जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाली रहनुभएको छ ।
विगतमा गरिएका सहमति र हाल राखिएका माग वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौँ उपत्यकामा खानेपानीको समस्या देखिन थालिसकेकाले यसमा गम्भीर बनिदिन आग्रह गर्नुभयो । उहाँले समास्या समाधान गरी जतिसक्दो छिटो काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन सरकार लागि परेको बताउनुभयो ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले विगतमा गरिएका सम्झौता सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सिएमसीका सामान आपूर्तिकर्ता पाउनु पर्ने रकम भुक्तानी गर्नु पर्ने, मेलम्ची बजारदेखि-मेलम्ची घ्याङसम्मको सडक निर्माण गरिनुपर्ने, मेलम्ची नदीबाट पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाडौँ उपत्यकाका खानेपानी लिमिटेडले बिक्री गरेबापतको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनु पर्ने बताउनुभयो ।
तत्कालनी खानेपानीमन्त्रीसँग २१ असोज २०८१मा मेलम्ची खानेपानी बाढिीपीडित सङ्घर्ष समिति, हेलमबु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिबिच सहमति भएको थियो ।