• २४ कात्तिक २०८२, सोमबार

अनुमति नलिई सञ्चालित मनकामना अस्पताल बन्द गर्न निर्देशन

blog

विष्णुप्रसाद पोखरेल
दमक, कात्तिक २४ गते ।
झापाको मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालित एक निजी अस्पताल बन्द गर्न निर्देशन दिएको छ । चारआलीस्थित मनकामना अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।

अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृतिसम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन परिपत्र गर्दा अटेर गरेपछि दर्ता प्रक्रिया पूरा नगरेसम्मका लागि पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभएको छ ।

नगरपालिका र स्वास्थ्य कार्यालय झापाले गत असोज ३० गते अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृतिसम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन अस्पताललाई लिखित परिपत्र गरेको थियो । उक्त परिपत्र अनुसार काम नगरेपछि नगरपालिकाले बन्द गर्न निर्देशन दिँदै अस्पताललाई पत्र पठाएको छ ।

यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा, स्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकड्भिट्टा लगायतका सरोकारवाला निकायहरुमा पठाइएको नगरपालिकाले जनाएको छ । नगरको स्वास्थ्य शाखामा समेत दर्ता नभएको र अस्पताल अवैध रूपमा सञ्चालन गरिएको ठहर गरेर बन्द गरिएको अधिकारीले जनाउनुभयो ।

स्थानीय तह सञ्चालन ऐन अनुसार, स्थानीय स्तरमा खुल्ने स्वास्थ्य संस्थाको अनुगमन र कारवाही गर्ने अधिकार नगरपालिकाको स्वास्थ्य शाखालाई रहेको जनाइएको छ ।