धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक २४ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशको अस्मिता र संविधानमाथि प्रहार भएको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।
स्वास्थ्य उपचारका नाममा प्रदेश बाहिर निस्किनुभएको मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान र कानुनी मर्यादाको खुला उल्लङ्घन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटेलमा गुप्त रूपमा सरकार गठन गर्नुभएको आरोप उहाँको छ ।
सोमबार बिहान आफ्ने धारणा बताउनुहुँदै उहाँले मुख्यमन्त्रीसँग राति ४ बजे बिदा लिएर उपचारका लागि निस्किनुभएको प्रदेश प्रमुखले केही घण्टामै एमाले प्रदेशसभा सदस्य सरोजकुमार यादवलाई सपथ दिलाउँदै संविधान र प्रदेशको अस्मिताको चीरहरण गरेको बताउनुभयो ।
साहले भन्नुभयो, “यस घटनाले न केवल संविधान र सङ्घीयताको अपमान गरेको छ, बरु मधेश प्रदेशको सम्मान र आत्मसम्मानमा गहिरो चोट पुर्याएको छ ।”
जसपाले यस्तो कार्यको घोर निन्दा र भर्त्सना गर्दै उहाँ भन्नुभयो, ‘‘होटलमा बनेको सरकार स्वीकार्य छैन ।’’ सचिव साहले संविधानको खिल्ली उडाउनेहरूलाई जनताले कहिल्यै माफ नगर्ने चेतावनी पनि दिनुभएको छ ।
उहाँले सङ्घीयता र मधेशको पहिचान जोगाउन सबै दल र सचेत नागरिकहरूलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै “सङ्घीयता जोगाऔँ, मधेशको अस्मिता बचाऔँ,” उल्लेख गर्नुभएको छ ।