• २४ कात्तिक २०८२, सोमबार

बाँकेमा ‘नो–पे, नो–लाइट’ अभियान

बक्यौता नतिर्ने ग्राहकबाट एक करोड ३४ लाख असुली प्रक्रिया सुरु

blog

नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्र । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, कात्तिक २४ गते ।
नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले विद्युत उपभोग गरे बापतको बक्यौता रकम नतिर्ने ग्राहकविरुद्ध नेपालगन्जमा पनि कडाई सुरु गर्दै ‘नो–पे, नो–लाइट’ अभियान सञ्चालन गरेको छ ।

वितरण केन्द्रले लामो समयदेखि विद्युत महसुल नतिरेका १८२ जना ग्राहकको लाइन काट्दै एक करोड ३४ लाख ६२ हजार ४२० रुपियाँ बक्यौता असुली गर्ने प्रक्रिया अघि बढाइएको वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो ।

उहाँले सो अभियान सुरु भएको तीन दिनमै लाइन काटिएका १८२ मध्ये ७६ जना ग्राहकले ४१ लख ८९ हजार ९० रुपियाँ बक्यौता रकम तिरेको जनाउँदै बाँकी ग्राहकले बिल तिरेपछि उनीहरूको लाइन पुनः जडान गरिने बताउनुभयो ।

विद्युतको बक्यौता रकम असुल गर्न जिल्लामा ‘नो–पे, नो–लाइट’ अभियानलाई तीव्रता दिइएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका लेखा अधिकृत वृद्धि सागर भुषालका अनुसार गत शुक्रबारदेखि सुरु गरिएको विद्युत महसुल उठाउने उक्त अभियान अन्तर्गत प्राधिकरणले स्मार्ट मिटरमार्फत उद्योगी र व्यवसायीहरूको लाइन काट्ने कार्य अघि बढाएको हो ।

वितरण केन्द्रका अनुसार लाइन प्रयोग गरेबापतको बिल ६० दिनभित्र तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । उक्त अवधिभित्र बिल नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुनेछ ।

नेपालगन्जका एक स्थानीय व्यवसायीले भन्नुभयो, “बिल तिरेपछि मात्र बिजुली आउँछ भन्ने थाहा त थियो, तर यति चाँडो काटिन्छ भनेर सोचेकै थिएन, अब समयमै बिल तिर्नुपर्ने महसुस भएको छ ।”

नेपालगन्ज वितरण केन्द्रका अनुसार, यो अभियानले बाँकेका सयौँ ग्राहकलाई समयमै बिल तिर्नुपर्ने सचेतना जगाएको छ भने अर्कोतर्फ अब उपभोक्तासँग सहकार्य गरेर विद्युत् सेवालाई अझ व्यवस्थित, भरपर्दो र पारदर्शी बनाउनु पर्ने आवश्यकता पनि महसुस गराएको छ ।