• २४ कात्तिक २०८२, सोमबार

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

blog

मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा सरोज कुमार यादवलाई नियुक्तपत्र प्रदान गर्नुहुँदै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी । तस्बिर : अजय शाह

अजय शाह
गौशाला (महोत्तरी), कात्तिक २४ गते ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा सरोज कुमार यादव (महोत्तरी) लाई नियुक्त गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबास सिन्धुलीको सिमानास्थित बर्दिबास ३ कालापानी पानस कटेजमा नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।

संविधानको धारा १६८(३) बमोजिम संसद्को ठुलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्री यादवलाई पानस होटल बर्दिवासमा चयन गरि सपथ ग्रहण समेत गराइएको छ । होटलमै एमाले सांसद लखन दास तत्मा, नेपाल सङ्घीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी र राप्रपाकी सांसद कन्चन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको छ ।

प्रदेश प्रमुख भण्डारी बिरामीको कारण देखाउँदै रातारात जनकपुरबाट काठमाडौँका लागि हिँड्नु भएको थियो । उहाँ बिरामी भएको थाहा पाएर मधेश भवनबाट बाहिरिदा कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलले फुलको गुच्छा दिएर सोमवार बिहानै ४ बजे बिदाइ गर्नुभएको थियो ।

यता प्रदेश प्रमुख भण्डारी बाटोमा बर्दिवासको कालापानी स्थित होटल पानस कटेजमा सोमबार बिहान ५ बजेर २० मिनेटमा यादवलाई मुख्यमन्त्री पदको नियुक्ती र शपथ समेत गराउनु भएको हो ।

शपथपछि मुख्यमन्त्री यादवले भन्नुभयो, ‘‘मैले मुख्यमन्त्री पदमा शपथ लिएको हुँ । जनकपुरधामको अवस्था असहज थियो । चारैतिर विरोध प्रदर्शन भइरहेको थियो । त्यसैले बाहिर शपथको कार्यक्रम राखिएको हो ।’’

विश्वासको मत नपाउने भएपछि कात्तिक २२ गते मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । सोनलले प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको आरोप लगाउनुभएको छ । तर, बिचबाटोमा नै उनले यादवलाई शपथ गराएको उहाँको भनाइ छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थ्य को कुरा गरिन् ।’’

प्रदेश प्रमुख भण्डारीलाई कांग्रेससहित ७ दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढि दलले सरकार बनाउन भन्दै आह्वान गर्न दबाब दिइरहेका थिए । एमालेले पनि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा नाराबाजी गरेको थियो ।

यता उपचारको बहानामा भागेर कटेजमा कार्यालय स्थापना गरेर मुख्यमन्त्री नियुक्ति गरिएकोमा प्रदेश प्रमुख भण्डारीको आलोचना भइरहेको छ ।