• २५ कात्तिक २०८२, मङ्गलबार

गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकमाथि हातपात र तोडफोड

blog

गजेन्द्रनारायण सिंह अस्पताल राजविराज । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक २४ गते ।
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा एक चिकित्सकमाथि हातपात र आकस्मिक कक्षमा तोडफोड गरिएको छ ।

अस्पतालको एनआइसीयुमा सर्टसर्किट भएर एक नवजात शिशु घाइते भएपछि आक्रोशित परिवारजन र जेनजी समूहका युवाहरुले निमित्त मेसु डा. दिलिप साहमाथि हातपात र तोडफोड गरेका हुन् ।

आइतबार साँझ एनआइसीयु वार्डको विद्युतीय बल्ब सर्टसर्किट भएर झर्दा अस्पतालमा जन्मिएका रुपनी गाउँपालिका वार्ड नम्बर ३ निवासी हर्दियाकी रेखा यादवको बालकमाथि लागेर घाइते भएको हो ।

शिशु घाइते भएपछि आक्रोशित परिवारजन र जेनजी समूहका युवाहरूले निमित्त मेसु डा. दिलिप साहमाथि हातपात गरेका थिए ।

बालकलाई तुरुन्तै थप उपचारका लागि धरान पठाइएको छ । सर्टसर्किटपछि आफू एनआइसीयुमा अनुगमन गरिरहेको बखत अचानक आएका उनीहरुले हातपात गरेको निमित मेसु साहले जानकारी दिनुभयो । आक्रोशित समुहले प्रदर्शन गर्दै अस्पतालको आकस्मिक कक्षमा तोडफोड समेत गरेको बताइएको छ ।

हातपात गर्नेलाई पक्राउ नगरिएसम्म अस्पतालका चिकित्सकहरूले इमर्जेन्सी सेवासमेत बन्द गरेर धर्ना दिन बाध्य हुने अस्पताल प्रशासनले जनाएको छ ।