देवराम यादव
सप्तरी, कात्तिक २४ गते । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वमन्त्री उमेशकुमार यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गर्नुभएका छन् । सप्तरीको हुलाकी लोकमार्गको खाँडो पुलको पूर्वको छेउमा राजविराज नगरपालिका –१० बिरौल, कदमाहा, पकरी, सोनराका स्थानीयवासीसँग भेटघाट गर्नुहुँदै पूर्वमन्त्री यादवले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने खुलासा गर्नुभएको हो ।
उहाँ आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन सक्रियतापूर्वक लागिरहनुभएका छन् । लोकतान्त्रिक गणतन्त्रलाई सही मार्गमा ल्याउन र जेनजी आन्दोलनमा उठेका मागहरु सम्बोधनका लागि पनि निर्वाचनको विकल्प नरहेका नेकपाका नेता यादवले क्षेत्र नम्बर २ का मतदाता समक्ष आफ्ना धारणा सार्वजनिक गरिरहनुभएको छ ।
चुनावको माहोल बनाउन गाउँ, टोलमा अनौपचारिक अभियानमा लाग्नु भएको उहाँ बताउनुहुन्छ । हालै दसवटा कम्युनिष्ट धटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी निर्वाचनको पक्षमा वातावरण बनाउन देशभरि नै नेता कार्यकर्ता परिचालित भएर चुनावी महोल बनाउन होमिसकेको पूर्वमन्त्री यादवले बताउनुभयो ।
पूर्वमन्त्री यादवले समाजका अगुवासँग प्रतिनिधिसभाको निर्वाचनको विषयमा (सम्वाद)को साथै भेटधाट गरी उम्मेदवारी दिन लागेको भन्नुहुँदै सुझाव माग्नु भएका छन । उहाँले भेटधाटको क्रममा आफुले गरेको जनपक्षीय कामहरुलाई जनताले स्मरण गरिरहेको स्वयम सुन्दा आत्मसन्तुष्टी भएको बताउनुभयो ।
अगुवाहरुले विगतमा संविधानसभा तथा व्यवस्थापिका संसदमा खेलेको भूमिकालाई महत्त्व दिएर यस जिल्लाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र चन्द्रकान्त (सिके) राउतलाई २ नम्बर क्षेत्रलाई छोडेर अन्य क्षेत्रबाट उम्मेदवारी दिन सुझाव दिनु भएको बताउनुभयो । पूर्वमन्त्री यादवले प्रतिनिधिसभामा उम्मेदवारीका लागि वातावरण बनाइ दिन अगुवाहरुसँग आग्रह गर्नुभयो ।
स्थानीय अगुवाहरुले जसपा नेपालका अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा. राउतलाई दुबै जना फरक फरक निर्वाचन क्षेत्रमा जानुपर्ने बताउनुभयो । भेटघाटको क्रममा नेता यादवले स्थानीयले राखेको जिज्ञसा सभ्य तरीकाले धितमार्ने गरी आश्वस्त पार्नु भएका थिए ।
स्थानीयहरुले यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । बिरौल, कदमाहा, पकरी, सोनराका स्थानीय अगुवाहरुले उहाँको कार्यकालमा भएको विकास निर्माण, कार्य तथा निर्वाचित भएपछि निरन्तर जनतालाई गरेको सम्मानलाई स्मरण गर्नुहुँदै यस पटकको प्रतिनिधिसभाको मोर्चा सम्हाल्न आग्रह गरेका थिए । उहाँले स्थानीय अगुवाहरुको सुझावलाई गम्भीरताका साथ लिएको बताउनुहुँदै अन्य अगुवासाथीहरूसँग सुझाव लिएर चुनावी मोर्चामा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।