• २४ कात्तिक २०८२, सोमबार

गृहकार्यमा केन्द्रित राजनीति

blog

भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा निर्वाचन गराउने मुख्य प्रयोजनका लागि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन मिति घोषणा गरेको दुई महिना पूरा हुँदै छ । भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएपछि प्रतिनिधि सभा विघटन गरेसँगै कार्की नेतृत्वको सरकारले निर्वाचनको घोषणा गरेको थियो । घोषित फागुन २१ गतेको निर्वाचन आउन अब मात्र ११५ दिन बाँकी छ । यो भनेको सामान्य अवस्थामा हुने निर्वाचनका लागि जस्तो पर्याप्त समय होइन । समय पर्याप्त नभए पनि निर्वाचन सम्पन्न गराउने विषयमा खास गरी राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुन जान्छ । 

लोकतान्त्रिक व्यवस्थामा दलहरूको सहभागिता बिना न राजनीतिको परिकल्पना गर्न सकिन्छ, न त निर्वाचनकै विषयमा । त्यस कारण सरकारले निर्वाचन मिति घोषणा गरिसकेको सन्दर्भमा निर्वाचनका लागि तयारी अवस्थामा रहनु दलहरूको राजनीतिक धर्म पनि हो । कुन कुन दल जनतामाझ कतिको लोकप्रिय छन् भन्ने निर्वाचनपछिको परिणामबाटै थाहा हुन्छ । त्यस अर्थमा दलहरूको शक्ति मापन गर्ने प्रमुख आधार भनेकै निर्वाचन हो । त्यसो भए दलहरू तयार भएर मात्र निर्वाचन सम्भव हुन्छ त ? निर्वाचनका लागि त्यतिले मात्र पुग्दैन । 

निर्वाचन मिति घोषणा गर्नेदेखि लिएर त्यसका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउने प्रमुख दायित्व सरकारको नै हुन्छ । लोकतान्त्रिक व्यवस्थामा हुने निर्वाचनको प्रमुख विशेषता भनेकै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन हो । त्यस कारण सरकारले मतदातामा शान्ति सुरक्षाको प्रत्याभूति गराई स्वतन्त्र, निष्पक्ष र भयरहित ढङ्गबाट निर्वाचन गराउने प्रतिबद्धता जनाएर मात्र हुँदैन, त्यस अनुसार व्यावहारिक कार्यान्वयन पनि गर्नु पर्छ । निर्वाचन आयोगको काम भनेको निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी पूरा गर्नु हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियागत काममध्ये ६० प्रतिशत काम पूरा गरिसकिएको जानकारी गराउनुले आयोग तयारी अवस्थामा रहेको बुझ्न सकिन्छ । उता, निर्वाचन अयोगमा मङ्गलबार सम्ममा १२५ दल दर्ता भइसकेका छन् । तीमध्ये निर्वाचन घोषणापछि तीन दल दर्ता भएका छन् । आयोगका अनुसार १७ वटा दलको निवेदन विचाराधीन अवस्थामा छ । फागुन २१ को निर्वाचनमा भाग लिन मङ्सिर १ गतेदेखि मङ्सिर १० सम्म दल दर्ता गराइ सक्नुपर्ने हुन्छ । त्यसका लागि सम्बन्धित दलहरूले ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसकेको हुनु पर्छ ।  

अब निर्वाचनको तयारीका सन्दर्भमा सरोकारवाला सबै पक्ष खास गरी सरकार, दलहरू र आयोगको तयारी र त्यस अनुसारको व्यावहारिक पाटो हेरौँ । जेनजी आन्दोलनपछि हरेक दलहरूमा पुरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको दबाब बढेको छ । त्यस अनुसार नेतृत्व हस्तान्तरण हुन सकेको छ त ? जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएर उपचारका लागि सिङ्गापुर जानु भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व हस्तान्तरण गर्न अझै पनि तयार देखिनु भएको छैन । अध्यक्ष ओली प्रतिनिधि सभा पुनस्र्थापनाको मुद्दा बोकेर हिँड्नु भएको छ ।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत बुधबार राजधानीको भृकुटीमण्डपमा १० वामपन्थी दलबिच नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा गर्नु भयो । जसमा एमालेबाट विभाजन भई बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबाहेक अरू सबै माओवादी पृष्ठभूमिका साना दल छन् । यो अवस्थामा फागुन २१ मा निर्वाचन होला कि नहोला त भन्ने आशङ्का राजनीतिक भेटघाट र चिया पसलमा गफको विषय बनिरहेकै छ । त्यति मात्र होइन, जेनजी आन्दोलनका कारण मनोबल खस्किएका सुरक्षाकर्मीको मनोबल उस्तै छ । सुरक्षाकर्मी पनि चुनावका बारेमा अन्योल नै छन् । सुरक्षाकर्मी अनि दलका नेताहरूका त्यस्ता अभिव्यक्ति सुन्दा आमसर्वसाधारण झनै अन्योलमा परेका छन् । अनि सञ्चार माध्यम र सामाजिक सञ्जालका भित्ता पनि यस्तै आशङ्का पोतिएका छन् । अर्थात् सहतमा देखिएका यी र यस्ता कुरा सुन्दा चुनावको सुनिश्चितता अझै हुन सकेको छैन कि जस्तो देखिन्छ । त्यसो भए फागुन २१ मा चुनाव हुँदैन त ? वास्तविकता योभन्दा अलि भिन्न खाले हुन्छ कि भन्ने घटनाक्रमबाट अनुमान लगाउन सकिन्छ । 

त्यसो भए दलहरूको तयारी हेरौँ न त । सबैभन्दा ठुलो दल कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ । बैठकको मूल एजेन्डा १५ औँ महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेमै छ । केन्द्रीय सदस्यले यस विषयको घनीभूत छलफलमा भाग लिएर आआफ्ना धारणा राख्ने क्रम जारी छ । हो, नाङ्गो आँखाले हेर्दा कांग्रेसको बैठकमा विवाद देखिएको पनि छ । यो आजको दिनको तथ्य हो तर यति भनिरहँदा यो विवाद मूल रूपमा आन्तरिक व्यवस्थापनको विषय मात्र हो । चुनावअघि महाधिवेशन वा चुनावपछि महाधिवेशन भन्ने दुवै खेमाका नेताहरू आन्तरिक रूपमा उम्मेदवारका बारेमा छलफलमा जुटेका छन् ।  

अर्कातिर, एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनस्र्थापनाको मुद्दालाई जे जसरी अगाडि बढाउनु भएको छ, त्यो देखावटी मात्र त होइन भन्नेमा आशङ्का एमाले वृत्तमा पनि छ । यसबाट पुनस्र्थापनाको कार्ड फालेर अरूलाई त्यसैमा अलमल्याउँदै आफ्नो पक्षमा चुनावी वातावरण बनाउने ओलीको रणनीति पनि हुन सक्छ ।  जेनजी पुस्तालाई आफूतिर तान्नका लागि वा आफूसँग भएका जेनजी पुस्ता यो वा त्यो बहानामा नभड्किई आफैँसँग रहोस् भनेर संरक्षण गर्नका लागि एमाले जेनजी समूह नै गठन गरेको छ । अर्थात् जेनजी को मुद्दा सम्बोधन गर्ने नाममा एमालेले भित्रभित्रै चुनावको गृहकार्य गरिसकेको छ । 

माओवादी केन्द्रका अध्यक्ष दाहाल त २०६४ को संविधान सभा चुनावमा हात पारेको सफलतालाई पछिल्लो निर्वाचनको नतिजासँग तुलना गर्दा कम्ती चकित पर्नुभएको छैन होला । गत निर्वाचनमा कांग्रेससँगको गठबन्धनका कारण प्रतिनिधि सभामा तेस्रो शक्ति बन्न पुगेका दाहालले चुनावी परिणामलगत्तै देखाएको अपरिपक्व राजनीतिका कारण यति बेला उहाँ के गरौँ, कसो गरौँको अवस्थामा हुनुहुन्छ । त्यसैले आफू र पार्टीको अस्तित्व रक्षाका लागि उहाँले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समूह र हिजोका दिनमा माओवादी पृष्ठभूमिकै दलहरूलाई एकै मञ्चमा भेला गराएर नेपाली कम्युनिस्ट पार्टी गठन गर्नुभएको छ । माओवादीमा पार्टी एकता गर्ने नेपालको निर्णयप्रति असहमति जनाउँदै केही नेता पुरानै घर एमालेमा फर्कने तयारीमा छन् । १० बर्से माओवादी सशस्त्र युद्धको नेतृत्व गर्नुभएका अध्यक्ष दाहालका लागि माओवादी शब्दप्रति कतिसम्म वितृष्णा जागेको रहेछ भन्ने पार्टीको नाममा माओवादी शब्दको नाम निशानासमेत नभेटिनुबाट पनि प्रस्ट हुन्छ । पार्टीको नामनेपाली कम्युनिस्ट पार्टी राख्नुका पछाडिको मुख्य कारण भनेकै चुनाव भइहालेमा आफ्नो पोजिसन सुरक्षित गर्नु हो । अर्थात् पार्टी एकताका नाममा उहाँले मतदातालाई गोलबद्ध गर्न खोजेको यसबाटै प्रस्ट हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सम्पन्न दुई दिने विस्तारित बैठक फागुन २१ को चुनावमा केन्द्रित रहँदै कतिपय महìवपूर्ण निर्णय गरेको छ । उसले सरकारलाई निर्वाचनको वातावरण बनाउन आग्रह गर्दै निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गरेको छ । 

प्रमुख राजनीतिक दलका यस्ता गतिविधिबाट भित्रभित्रै चुनावी तयारीमा जुटेका उनीहरूले चुनाव हुँदैन भनेर एकले अर्कोलाई अलमल्याउन मात्र खोजेका त होइनन् भन्ने प्रश्न पनि उठेको छ । दलका नेताहरूले एकअर्कालाई अलमल्याउन खोजेको भए पनि आजको दिनमा देशको प्रमुख आवश्यकता निर्वाचन हो भन्ने विषय कसैले पनि भुल्नु हुँदैन । जेनजी आन्दोलनपछि बाटो बिराएको राजनीतिलाई लिकमा ल्याउने लोकतान्त्रिक माध्यम भनेकै निर्वाचन हो ।