• २४ कात्तिक २०८२, सोमबार

सुन्तला बगैँचामा रोग फैलिँदा किसान चिन्तित

blog

सल्यान वागचौर नगरपालिका कोटमौलामा किसानले लगाएको सुन्तलामा रोग देखा परको छ । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, कात्तिक २४ गते ।
सल्यानको बागचौर नगरपालिका–९ कोटमौलाका किसानले लगाएका सुन्तलामा विभिन्न रोग फैलिँदै गएपछि किसानहरू चिन्तित बनेका छन् । बोटका पात पहेँलिँदै झर्ने, हाँगा सुक्ने र फल असामान्य रूपमा झर्ने समस्या देखिएपछि  सुन्तला खेती सङ्कटमा परेको छ ।

बागचौर ९ का किसान लोकबहादुर डाँगीका अनुसार गत असार महिनादेखि बगैँचामा रोगको लक्षण देखिन थालेको हो । उहाका ६५० मध्ये करिब १४० बोटमा रोगको असर पाइएको छ । विशेष गरी कृषि पाठशाला सञ्चालन गरिएको बगैँचामा समस्या बढि देखिएको डाँगीको भनाइ छ ।  अघिल्नो वर्ष २९ लाखका सुन्तला बिक्री गरेका डाँगी यो वर्ष निराश हुनुहुन्छ । उहाले भन्नुभयो आम्दानीको स्रोत सुन्तला थियो । यसैमा रोग लाग्दा समस्या भयो ।

जय बागेश्वरी फर्म दर्ता गरेर व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएकी किसान पार्वती ओलीका बगैँचामा पनि सुन्तलाका पात पहेँलिँदै फल झर्ने समस्या तीव्र भएको छ । “औषधी छर्किएर रोग नियन्त्रणको प्रयास गरिए पनि सुन्तला बचाउन सकिएको छैन,” उहाँले दुखेसो गर्नुभयो ।

पछिल्लो समय ग्रिनिङ र पिङ्क रोगसँगै फेद कुहिने र कोत्रे रोग फैलिँदा बोट सुक्ने समस्या तीव्र भएको किसानहरूको गुनासो छ । यसले किसानहरूको मुख्य आम्दानीका स्रोतमा नै सङ्कट ल्याएको छ । हरेक वर्ष २८ देखि ३५ लाख रुपियाँसम्म कमाइ गर्दै आएका किसान भरतनाथ योगीले यस वर्ष आम्दानी घट्ने निश्चित भएको वताउनुभयो । उहाँले भन्नुभयो ‘‘बगैचा हेर्न सकिने अवस्था छैन । किसानलको आम्दानीको स्रोत नै गुमेको छ ।’’

बागचौर नगरपालिका–८ र ९ कोटमौला सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा परिचित छ । यहाँका करिब ७ सय किसानले ३८० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गर्दै वार्षिक २५ देखि ३० करोड रुपियाँसम्म आम्दानी गर्दै आएका थिए । तर पछिल्लो रोगका कारण उत्पादनमा उल्लेख्य गिरावट आएको किसानहरूको भनाइ छ ।

बागचौर नगरपालिकाका कृषि शाखा प्रमुख घनश्याम केसीका अनुसार हालसम्म करिब २० प्रतिशत सुन्तला बोट सखाप भइसकेका छन् । “रोग परीक्षणका लागि नमूना नार्कमा पठाउँदा अधिकांशमा ग्रिनिङ, फेद कुहिने र कोत्रे रोग पाइएको छ,” उहाँले जानकारी दिनुभयो ।

कोटमौलामा सुन्तलामा रोग देखा परेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विज्ञ सहितको टोलीले स्थलगत रुपमा अध्ययन गरी रोगको नमूना सङ्कल गरेका छन् । सङ्कलित नमूनाको परीक्षण रिर्पोट आएपछि उपचारका लागि आवश्यक कदम चालिने छ । कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले  जिल्लाभर करिब एक हजार छ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ, जसमा सबैभन्दा बढि समस्या बागचौरको कोटमौलामा देखिएको बताउनुभयो ।

उहाँका अनुसार खाद्यतत्वको कमी र रोगको सङ्क्रमणका कारण उत्पादनमा चुनौती देखिएको छ । अनुसन्धानका लागि पठाइएको रिपोर्टका आधारमा उपचार गरिने छ । आचार्यले फल टिपिसकेपछि बगैँचामा प्राविधिक टोली खटाई “कृषि पाठशाला” सञ्चालन गर्दै रोग नियन्त्रणका उपाय लागू गरिने जानकारी दिनुभयो ।