गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २४ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा आर्ट प्रोजेक्ट इन्टरनेसनल जिटु जिन्जा ग्यालरी जिटु, जापान र विन्दु स्पेस फर आर्टिस्टको आयोजनामा आइतबार अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । उहाँले कला विश्व भाषा भएको बताउँदै चित्रकला प्रदर्शनी सांस्कृतिक आदानप्रदान हुने एक माध्यम भएको र ती कलामार्फत आफ्नो पृथक् पहिचान, संस्कृति व्यक्त हुने तथा कलामार्फत शान्ति र सौहार्दको सन्देश पाइने बताउनुभयो ।
प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले प्रतिष्ठानले मित्रराष्ट्रसँग गर्ने यस्ता कला प्रदर्शनीको आयोजना गर्ने काम एकदम सराहनीय भएको बताउनुभयो । उहाँले विज्ञान र प्रविधि झैँ कलाले पनि फड्को मारिरहेको धारणा राख्नुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले यस्ता प्रदर्शनीले विभिन्न देशका कलाका आयाम तथा विविध पाटोलाई बुझ्न थप सहयोग गर्ने बताउनुभयो ।
आर्ट प्रोजेक्ट इन्टरनेसनल जिटु जिन्जा ग्यालरी जिटु, जापानका निर्देशक तामाकी कानोले नेपालमा यस किसिमको प्रदर्शनी गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले यस पटकको प्रदर्शनीमा बालकलालाई पनि समावेश गरिएको धारणा राख्नुभयो । प्रदर्शनीका क्युरेटर तथा विन्दु स्पेस फर आर्टिस्टका डिरेक्टर पृथ्वी श्रेष्ठले प्रदर्शनीमा सहभागी सबै कलाकार तथा सहयोगी सबैमा आभार व्यक्त गर्नुभयो । प्रदर्शनीमा नेपाल, जापान, दक्षिण कोरिया, जर्मनीलगायत देशका कलाकृतिको प्रदर्शनी समावेश छन् । प्रदर्शनीमा नेपालबाट नारदमणि हार्तम्छाली, लालकाजी लामा, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा, अरुणा हिङमाङ, सुरेम देशार, पृथ्वी श्रेष्ठ, मनिषलाल श्रेष्ठ, जया शर्मा, जेनी घले, कर्माटासी गुरुङ साथै जापान, दक्षिण कोरिया र जर्मनीका कलाकारका कलाकृति रहेका छन् ।