चितवन, कात्तिक २४ गते । वसन्त पराजुलीको उपन्यास ‘बखान’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । चितवन कचहरी र डबली बुक क्याफेको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बोल्ने वक्ताले उपन्यासले चितवनको इतिहास उधिन्न सफल भएको धारणा राख्नुभयो ।
इतिहासविद् प्राडा ईश्वरीराज लौडारीले प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीलाई आधार बनाएर चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुलाई उपन्यासमा सशक्त रूपमा उठान गरिएको बताउनुभयो ।
बखानसिंह गुरुङका नाति एवं सहिद लालध्वज गुरुङका छोरा चन्द्रध्वज गुरुङले ‘बखान’ उपन्यास भएकाले अटोग्राफका रूपमा चित्रण गर्न नहुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “उपन्यासले मेरा हजुरबा (बखानसिंह) र मेरा परिवारका कथा नजिकबाट छोएको छ । अटोग्राफमा जस्तै सबै जीवनी उपन्यासमा आओस् भन्ने अपेक्षा पनि राख्नुहुँदैन ।” कार्यक्रममा बोल्दै लेखक पराजुलीले अनुसन्धानमूलक उपन्यास लेखनका सीमा हुने हुँदा कतिपय पाठकले सोचे अनुसार कृतिमा विषय समेट्न नसकिने स्वीकार गर्नुभयो ।