• २४ कात्तिक २०८२, सोमबार

परिवार र आफन्तबाटै हत्या घटना बढ्दै

blog

मालिका गाउँपालिका–३ ह्वाङदीमा ५० बर्षीय धनबहादुर विकको हत्या भएको घटनास्थल । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी) कात्तिक २४ गते ।
गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङदीकाका २५ वर्षीय टोपबहादुर विकले गत कात्तिक १५ गते राति ५० वर्षीय बुबा धनबहादुर विकलाई हसिया र मुग्रो प्रहार गरेर हत्या गर्नुभयो । उहाँले बुबाको हत्या मात्रै गरेनन् ४८ वर्षीया आमा धनमाया विकको समेत हत्या प्रयास गर्नुभयो । कुटपीटबाट सख्त घाइते आमा धनमायाको अस्पतालमा उपचार भइरहेको छ ।

यस घटनाले गाउँनै शोक मग्न रहेको छ । घटनामा संलग्न छोरा टोपबहादुरलाई प्रहरीले घटनाकै दिन पक्राउ गरेर हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण अधिकारीका अनुसार छोरा टोपबहादुर कसैसँग दोहोरो संवाद गर्दैनन् । विकले घटनाको विषय स्वीकार गरिसकेका छन् । मानसिक उपचारको शङ्का लागेकाले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लैजाने योजना रहेको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।

यसैगरी, गत माघ ९ गते मालिका गाउँपालिका–८ का २९ वर्षीय डम्बरबहादुर घर्तिले ६० वर्षीय बुबा लालबहादुर घर्तिलाई कुटपीट गरेर विभत्स हत्या गर्नुभयो । मादक पदार्थ सेवन गरेर लठ्ठिएका घर्तिले बुबालाई हत्या गरेर बारीमा ढुङ्गाले पुरेको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयलेनै हत्याको आशङ्का गरेर प्रहरीलाई खबर गरेका कारण प्रहरी टोली घटनास्थल पुगेर तत्काल डम्बर बहादुरलाई पक्राउ गरेको थियो । प्रहरीमा आरोपित आफैँले कसुर स्वीकार गरेका थिए ।

छिमेकमा साँधको विषयमा विवाद भएकै कारण इस्मा गाउँपालिका–४ दोहलीकी ५० वर्षीया मिना दर्लामीलाई छिमेकी ४८ वर्षीय मिनबहादुर अछामीले गत मङ्सिर ३० गते विभत्स हत्या गर्नुभयो । हत्यापछि फरार अछामीलाई प्रहरीले दुई दिनपछि रिडीबाट पक्राउ ग¥यो । अछामी पक्राउ परेलगत्तै प्रहरीको प्रारम्भिक बयानमा घरयासी साँध सिमानाको कारण विवाद उत्कर्षमा पुगेपछि मादक पदार्थ सेवन गरेर दलार्मीको हत्या गरेको स्वीकार गर्नुभयो । छिमेकी अछामी र दर्लामी परिवारको नयाँ घरयासी विवाद थिएन् ।

धेरै पहिलेबाट साँध, सिमाना र पानीका बारेमा झगडा हुने र पटक–पटक मार्ने धम्की आइरहेका कारण घटना घटेको मृतकका छोरा कमल दर्लामीले बताउनुभयो । यी प्रतिनिधिमूलक घटना भए पनि हत्यासँगै बलात्कार, आगजनी, चोरी र घरेलुहिंसाका अपराधका घटना घरपरिवार, आफन्त र छिमेकभन्दा पर कम रहेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले शिक्षाको कमी, लोभ, रिसिबी र नजिक भएका कारण सूचना सबै प्राप्त हुँदा परिवार र आफन्तभित्र अपराध हुने बताउनुभयो । यसको न्यूनीकरणको उपाय भनेकै सामुदायिक सचेतना रहेको बताउनुभयो ।