गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २४ गते । असोज दोस्रो साता आएको बाढी र डुकानका कारण मधेश प्रदेशमा झन्डै १३ करोड रुपियाँ बराबरको माछामा क्षति भएको छ । बाढीका कारण मधेश प्रदेशका आठ वटै जिल्लामा १२ करोड ९४ लाख ८२ हजार २५० रुपियाँ बराबरको माछामा क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कात्तिकमा आएको बेमौसमी वर्षाले पु¥याएको क्षतिको विवरण भने सङ्कलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै धुनषामा ५८ लाख र महोत्तरीमा पाँच लाख गोटा माछामा क्षति भएको छ । यस्तै सर्लाहीमा ५३ हजार आठ सय केजी ठुला माछा नष्ट भएका छन् ।
मधेश प्रदेशभर दुई लाख ७७ हजार ८५२ केजी बराबरको माछाको क्षति भएको मन्त्रालयले जनाएको छ । अन्य जिल्लामा पालन गरिएका माछामा क्षति भए पनि सङ्ख्या यकिन नभएको मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. सरोज चौधरीले डुबानका कारण माछामा ठुलो क्षति भएको जानकारी दिनुभयो । माछा पोखरी भरिएर माछाबाहिर निस्केपछि ठुलो सङ्ख्यामा क्षति पुगेको उहाँको भनाइ छ । नेपालमा उत्पादन हुने माछामध्ये ६० प्रतिशत माछा मधेश प्रदेशमा उत्पादन हुने उहाँले जानकारी दिनुभयो । तराईका अन्य जिल्लामा समेत माछापालन हुने गरेको छ ।
मन्त्रालयका अनुसार आव २०८०/८१ मा मुलुकभर एक लाख २३ हजार ४०३ मेट्रिक टन माछा उत्पादन भएको छ ।