काठमाडौँ, कात्तिक २३ गते। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
गृहमन्त्रालयमा आज भएको उक्त दुई पक्षीय भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच निर्वाचनका लागि शान्तिसुरक्षाको विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
सोही अवसरमा गृहमन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै शान्तिसुरक्षा, सुशासन र भ्रष्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको तथा घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सरकार अहोरात्र लागिपरेको बताउनुभयो।
गृहमन्त्री अर्यालले नेपाल र भारतबीच कायम रहेको सम्बन्ध सधैँ निरन्तर रहने प्रष्टपार्नुभयो। दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो।
त्यस अवसरमा भारतीय राजदूत श्रीवास्तवले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
दुई देशबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध सधैँ सकारात्मक र सुमधुर ढङ्गले अघि बढ्ने उल्लेख गर्दै उहाँले निर्वाचन सफल बनाउन खेल्नपर्ने भूमिका लागि सधैँ सकारात्मक रहेको बताउनुभयो। रासस