जनार्जन खत्री
सर्लाही, कात्तिक २३ गते । सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलबाट पाउनुपर्ने उखुको पुरानो बक्यौता रकम माग गर्दै किसानले आइतबार दिउँसोदेखि अनिश्चिकालीन धर्ना सुरु गरेका छन् ।
आर्थिक वर्ष २०७०-७१ देखिको भुक्तानी बाँकी रहेको भन्दै किसानले उद्योगको मुलगेटमा तालाबन्दी गरी आन्दोलन सुरु गरेका हुन् । धनकौल गाउँपालिका–२, किसान मदन साहले अन्नपूर्ण चिनी उद्योगमा २०७४ सालमा बिक्री गरेको उखुको पैसा अझै नपाएको गुनासो गर्नुभयो ।
किसानले गत वर्ष उखुको मूल्य तय नहुँदै सञ्चालन भएको उद्योगले प्रतिक्विन्टल २० रुपियाँ भुक्तानी दिन बाँकी रहेको गुनासो गरेका छन् । २०८० फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगपतिले २०८१ जेठ मसान्तसम्म भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पैसा नदिएको उखु किसानको गुनासो छ ।
आन्दोलित उखु किसानले अन्नपूर्ण चिनी उद्योगले २०७१ सालदेखिको नौ करोड ७० लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेको दाबी गरेका छन् । किसानको बक्यौता रकम पुरानो मालिक वा नयाँ मालिक कस्ले भुक्तानी गर्ने भन्ने विवाद छ ।
उद्योगका प्रशासकीय प्रमुख रमेशप्रसाद श्रीवास्तवले उद्योगले किसानलाई दिनुपर्ने पुरानो भुक्तानीको विषयमा सर्लाही जिल्ला अदालतमा मुद्दा चलिरहेको जानकारी दिनुभयो । उद्योगपति राकेश अग्रवालले स्थापना गरेको उद्योग २०७७ सालमा अर्का उद्योगपति शैलेन्द्र गुप्ताले खरिद गर्नुभएको थियो ।
गत वर्षको भुक्तानी बाँकी रहेको विषयमा सुरुमा मूल्य कायमै नहुँदै मिल सञ्चालन गरिएको र उखुबाट रिकोभरीसमेत कम आएकाले किसानलाई भुक्तानी दिन समस्या परेको उद्योगका प्रशासकीय अधिकृत श्रीवास्तवको भनाइ छ ।