• २३ कात्तिक २०८२, आइतबार

रैथाने बाली उत्पादनपछि बजारीकरणमा समस्या

blog

सेल्मुकाङ कृषक समूहद्वारा आयोजित कृषि मेला कार्यक्रममा भाग लिएका कृषकहरू । तस्बिर : नन्द सिंह

नन्द सिंह

रलिङ (हुम्ला), कात्तिक २३ गते । हुम्लामा रैथाने बाली उत्पादनपछि बजारीकरणमा समस्या भएको छ । कृषकहरूले रातदिन नभनी स्थानीय अन्नबाली उत्पादन गर्छन् तर त्यसको बजारीकरण नहुँदा कृषकहरूले समस्या भोग्नुपरेको हो । 

हुम्लाको सिमकोट गाउँपालिका–३ र ४ का कृषकहरूले कात्तिक २२ गते कृषि मेला सञ्चालन गर्ने क्रममा कृषकहरूले यस्तो गुनासो पोखेका हुन् । शनिबार एक कार्यक्रमको आयोजना गर्दै सेल्मुकाङ कृषक समूहले कृषि मेला प्रदशन गरेको छ । उक्त समूहले रैथाने बालीबाट बनेका विभिन्न परिकारसँगै अर्गानिक महको प्रदर्शनी गरिएको थियो ।

युएनडिपी र बुद्वि ट्री फाउन्डेसनको आर्थिक सहयोग तथा सेल्मुकाङ कृषक समूहको आयोजनामा उक्त कृषि मेला प्रदर्शनी गरिएको हो । प्रदर्शनी कार्यक्रममा स्थानीय कृषक कुन्जो तान्बा लामाले रैथानी बालीमा खामु, चुली, ढँटेलो, ओखर, तोरी र सवाँलेको तेल, कालो र माले सिमी, गहुँ र फापरको पिठो, ढोकाया र रुगि साग, स्याउको चाना, स्याउ, फर्सी, घोडा मच्चा र मह लगायतका वस्तुहरू प्रदर्शन गरिएको बताउनुभयो ।

सिमकोट गाउँपालिका–३ को बरगाउँ, लाङ्दुक, तोर्पा, हुटिक, लिमाटाङ र ४ नम्बर वडाको बुराउँसे गाउँका कृषकहरूले कृषि मेलामा भाग लिएका थिए । कृषि मेलामा भाग लिएका स्थानीय कृषक छिरिङ लामाले विभिन्न स्थानीय अन्न उत्पादन गरिन्छ तर बजार नपाएको गुनासो गर्नुभयो । यसका लागि सरोकारवाला निकायले आफू जस्ता हजारौँ कृषकलाई सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

स्थानीय स्तरमै रैथाने बालिको उत्पादन र संरक्षणपछि स्थानीय स्तरमै उत्पादन गरेको जैविक विषादीको प्रयोग गर्नुपर्ने लामाको भनाइ छ । कृषकले प्रदर्शनी गरेको कृषि मेला मात्र नभई प्रचार प्रसारको पनि खाँचो रहेको र यसलाई बुलन्द गर्न आवश्यक रहेको लामाले बताउनुभयो । प्रदर्शनी मेलामा बुद्वि ट्रि फाउन्डेसन नेपालकी जिल्ला परियोजना प्रमुख छेतेन डोल्मा लामाले कृषि क्षेत्रलाई बढी केन्द्रित गरी महिलालाई आर्थिक आम्दानीको मुख्य स्रोत बनाउने आफ्नो उद्देश्य रहेको बताउनुभयो ।

उक्त सञ्चालन भएको कृषि मेलाले कृषकको क्षमता अभिवृद्धि मात्रै नभई हुम्लाका कृषकले उत्पादन गरेका रैथाने बालीलाई गुणस्तरीय बनाउन र यसलाई जिल्ला बाहिर निर्यात गर्नम सरकारी निकायको समेत सहयोग रहनुपर्ने सहभागिता निर्धारण प्रणालीका प्रशिक्षक घनश्याम नगरकोटीले बताउनुभयो । 

त्यस्तै सिमकोट गाउँपालिकाले कृषकसँग समन्वय गरेर यहाँको रैथाने बाली तथा महको बजारीकरण गर्दै आएको सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकायाले बताउनुभयो । उहाँले उत्पादनपछि मूल्यसूचीलगायत सबै कुराको वृद्धि विकासमा पनि कृषकहरूको ध्यान जानुपर्ने सुझाव दिनुभएको थियो । भाग लिएका समूहका कृषकहरूको मूल्याङ्कनका आधारमा क्रमशः पुरस्कृत गरिएको थियो ।