विदुर आचार्य
चौतारा, कात्तिक २३ गते । पर्यटकीय क्षेत्र सुकुटेमा जिल्लाकै पहिलो व्यवस्थित कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । सुनकोशी गाउँपालिकाले पालिकाभित्र उत्पादन भएका कृषि सामग्रीलाई सङ्कलन, बिक्री र बजारीकरण गर्नका लागि केन्द्रको स्थापना गरेको हो ।
गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाका अनुसार स्थानीय उत्पादनलाई बजारसम्म पुर्याएर कृषकको आयआर्जनमा टेवा पुर्याउने, अर्गानिक उत्पादन र उपभोगमा जनचेतना फैलाउने तथा स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।
गाउँपालिकाको सातै वडाबाट संकलन गरिएका कृषि उत्पादनहरू केन्द्रमा उपलब्ध गराइनेछ । यसबाट सुनकोशी गाउँपालिका मात्र नभई चौतारा साँगाचोकगढी नगरको अरनिको राजमार्ग क्षेत्रका बासिन्दा पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले ग्रामीण क्षेत्रका कृषि उत्पादनलाई वजारीकरण गर्न आवश्यक ठहर गर्दै संकलन केन्द्र स्थापनाको पहल गरेको हो । केन्द्रको सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीयलाई नै दिइएको गाउँपालिकाले जनाएको छ ।
पर्यटकीय नगरीको रूपमा परिचित सुकुटेमा आगन्तुक पर्यटकहरूका लागि पनि अब स्थानीय उत्पादनबाट बनेका परिकारहरू उपलब्ध हुने भएका छन् । यदि उत्पादित सामग्री राजधानीसम्म लैजानु परेमा गाउँपालिकाले ढुवानीको व्यवस्थासमेत गर्ने जनाएको छ ।
गाउँपालिकाका प्रवक्ता ईश्वर तिमल्सिनाका अनुसार, यस पहलले स्थानीय नागरिकको आर्थिक अवस्था सुधारमा सहयोग पु¥याउने विश्वास लिइएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले डेढ करोड रुपियाँ बराबरको गाइभैँसी खरिदमा अनुदान प्रदान गरेको र तीन करोड रुपियाँभन्दा बढीका दुग्धजन्य उत्पादन बिक्री भएको जानकारी पनि दिएका छन् ।
गाउँपालिकाले किसानहरूलाई लक्षित गर्दै प्रत्येक वर्ष कृषि औजार र हाते ट्र्याक्टर वितरण गर्दै आएको छ । यस सङ्कलन केन्द्रको अगुवाइ र व्यवस्थापन पिङडाँडाँ साना किसान कृषि सहकारीले गरेको हो । सहकारीका अध्यक्ष हीम बहादुर आचार्यका अनुसार सहकारीले स्थानीय रैथाने प्रजातिका बिउ वितरण गर्दै आएको छ र आगामी दिनमा बिउ तथा कृषि सामग्री उपलब्ध गराउँदै उत्पादन सङ्कलन र बिक्रीलाई नियमित रूपमा अगाडि बढाउने योजना बनाएको छ ।
यो केन्द्र सञ्चालनमा आएपछि सुकुटे क्षेत्र पर्यटकीय गन्तव्य र स्थानीय उत्पादनको केन्द्रका रूपमा पनि परिचित हुने सुकुटे क्षेत्रका स्थानीयमा विश्वास छ ।