• २३ कात्तिक २०८२, आइतबार

गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

blog

घोडाघोडी नगरपालिका–२, टनकपुरस्थित दुर्घटनास्थल । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), कात्तिक २३ गते । कैलालीमा तरकारी बोकेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–२, टनकपुरमा आइतबार बिहान दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु. २ च. २३५८ नम्बरको तरकारी बोकेको मिनिट्रकले तरकारीका बेर्ना बेच्न हिडेका साइकलयात्री र पैदलयात्रुलाई ठक्कर दिएको थियो । 

मिनीट्रकले एकै ठाउँमा लस्करै चार जनालाई ठक्कर दिएको जनाइएको छ । इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डिएसपी रमेशराज अवस्थीले ट्रकको ठक्करबाट साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ का ५५ वर्षीय शङ्कर डङ्गौराको मृत्यु भएको बताउनुभयो ।

डिएसपी अवस्थीले घाइते हुनेमा पैदलयात्री घोडाघोडी नगरपालिका–२, साँडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६, कोटातुल्सीपुरका ४५ वर्षीय हर्कबहादुर डङ्गौरा र सोही ठेगानाकै २५ वर्षीय कृष्ण चौधरी रहेको जानकारी दिनुभयो । घाइतेहरूको घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको छ । 

ट्रक र चालक रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा ४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगर प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । स्थानीयले उचित क्षतीपूर्तिको माग गर्दै केहीबेर सडकजाम गरेका थिए ।