राधा लुइटेल
फिदिम, कात्तिक २३ गते । लिम्बू संस्कृतीमा आधारित च्याब्रुङ नाच (केलाङ) सम्बन्धि सप्ताहव्यापी प्रशिक्षण पाँचथरको फिदिममा सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ स्थित सुम्हात्लुङ गडी मन्दिर परिषरमा सञ्चालित प्रशिक्षण याक्थुङ मुन चइत पाँचथर (लिम्बू चलचित्रकर्मी सङ्घ) ले आयोजना गरेको हो ।
लिम्बू समुदायको संस्कार र संकृतिमा आधारित च्याब्रुङ नाच संरक्षणसँगै आफ्ना पिता पुर्खासँग भएको ज्ञान र सीप युवा पुस्तामा हस्तान्तरण गर्ने उद्येश्यले यो प्रशिक्षण सञ्चालन गरिएको आयोजक याक्थुङ मुन चइत पाँचथरका अध्यक्ष फुङसो जवेगूले जानकारी दिनुभयो ।
प्रशिक्षणमा लिम्बू र गैर लिम्बू समुदायका प्रौढ र किशोर किशोरीसँगै बाल बालिका गरी ४९ जनाले प्रशिक्षण लिएका छन् ।
प्रशिक्षणमा सैदान्तिक र प्रयोगात्मक सत्रहरू सञ्चालन भएका थिए । प्रशिक्षण सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेको आयोजक सस्थाले जनाएको छ । तालिम समापन समारोहको अवसर पार्दै तालिमका प्रशिक्षक र सहयोगीहरूलाई कदर पत्र र नगद सहित सम्मान गरिएको छ ।