• २३ कात्तिक २०८२, आइतबार

नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयलाई आग्रह

blog

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पार्वती शर्मालाई नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन आग्रह गर्दै वृन्दावन नगरपालिकाका जनप्रतिनिधि । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
रौतहट, कात्तिक २३ गते ।
नेपाली कांग्रेस रौतहट क्षेत्र नं. ४ का सभापति  एवम् वृन्दावन नगरपालिका रौतहटका पूर्व नगर प्रमुख राम स्नेही राय यादवले वृन्दावन नगरपालिकामा एउटै कर्मचारीलाई बारम्बार प्रमुख प्रशासकीय अधिकृतको रुपमा नपठाउन माग गर्नुभएको छ ।  

वृन्दावन नगरपालिकामा बिनोद राउत कुर्मी नगर प्रमुख भएदेखि सधैँ शिक्षाका उपसचिव खिम बहादुर भुजेललाई नै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत तोक्ने गरेको भन्दै उहाँले गुनासो पोख्नु भएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. ४ का नेता, कार्यकर्ता तथा जनप्रतिनिधिसँगै शुक्रबारका दिन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्मालाई भेटेर उहाँले वृन्दावन नगरपालिकामा जुन सुकै कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत तोकेर पठाउन तर शिक्षाका उपसचिव भुजेललाई पुनः निरन्तरता नदिन आग्रह गर्नुभएको छ ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख शर्माले शिक्षाका उपसचिव भुजेलको शिक्षा मन्त्रालयमा सरुवा भएको बताउनुभयो ।

मन्त्रालयले खटाएका उपसचिव महम्मद शेरे मुस्तफालाई नगर प्रमुख कुर्मीले हाजिर नगराएपछि हाल वृन्दावन नगरपालिकाको खाता समेत बन्द गरिएको बताउनु हुँदै उहाँले शिक्षाका उपसचिव भुजेलको सरुवा कार्यान्वयनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गर्ने बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्दा समेत रमाना लिन नमानेपछि रौतहटको वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएको छैन ।

२०७९ सालको स्थानीय तहको निर्वाचनपछि नगर प्रमुख विनोदप्रसाद कुर्मी जितेर आएसँगै हाजिर हुनु भएका शिक्षा सेवाका उपसचिव भुजेलको बारम्बार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरे पनि कार्यान्वयन फितलो रहेको छ ।

२०७९ पछि हालसम्म केहि दिन नगरपालिकाका स्वास्थ्य सेवाका अधिकृत रासनारायण पटेल र उपसचिव ओमप्रसाद पाण्डेले प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य गरे पनि बढि समय शिक्षाका उपसचिव भुजेलले नै कार्यभार सम्हालेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षाका उपसचिव भुजेलको २०८१ माघ ९ गतेका दिन शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गर्दा समेत उहाँले रमाना लिन नमान्दा मन्त्रालयले २०८१ फाल्गुन २८ गते पुनः उहाँलाई निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

मन्त्रालयले पालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने क्रममा शिक्षाका उपसचिव भुजेलको २०८२ असोज ७ गतेका दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको थियो  ।

मन्त्रालयको सरुवाको बारम्बार शिक्षाका उपसचिव भुजेलले अटेरी गरेर रमाना नलिएपछि गएको असोज २२ गतेका दिन मन्त्रालयले वृन्दावन नगरपालिकालाइ पत्र लेख्दै शिक्षाका उपसचिव भुजेललाई तत्काल रमाना दिएर पठाउन पत्राचार गरेको थियो । वृन्दावन नगरपालिकामा मन्त्रालयले सरुवा गरेको उपसचिव शेरे मुस्तफालाई नगर प्रमुख कुर्मीले हाजिर नगराएपछि मन्त्रालयले भुजेलको नाममा रहेको नगरपालिकाको खाता रोक्का गर्दै उपसचिव मुस्तफाको नाममा खाता सञ्चलान गर्न पत्राचार गरेको एक महिनामै मन्त्रालयले उपसचिव मुस्तुफालाई रौतहटकै देवाही गोनाही नगरपालिकामा सरुवा गरेको छ ।