• २३ कात्तिक २०८२, आइतबार

अन्योलमा बसपार्क योजना

blog

वीरेन्द्रनगरमा रहेको सुर्खेत बसपार्क ।

रजनी योगी

सुर्खेत, कात्तिक २३ गते । बढ्दो सवारी चापलाई व्यवस्थित गर्न कर्णाली प्रदेश सरकारले ‘कर्णाली बसपार्क योजना’ आर्थिक वर्ष २०७९/८० मा अघि बढायो । योजना कार्यान्वयन भएन, कागजमै सीमित बन्यो । आवश्यक बजेटको व्यवस्थापन गरिएको भए पनि योजना कार्यान्वयन हुन सकेन ।

त्यसपछि आव २०८०/८१ मा पनि बसपार्क निर्माण गर्ने योजना फेरि बुनियो । उक्त वर्ष पूर्वाधार विकास निर्देशनालय सुर्खेतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार ग¥यो । उक्त वर्षको नीति तथा कार्यक्रम र बजेटमा बसपार्क योजना समेटिएको थियो । तर डिपिआर निर्माणबाहेकका अन्य काम अघि बढेनन् । योजना अलपत्र प¥यो । सरकारले स्पष्ट आधार निर्माण नगर्दा योजना सफल बन्न नसकेको हो ।

वीरेन्द्रनगरको बढ्दो सवारी चापलाई ध्यानमा राखेर अघि सारिएको बसपार्क योजना अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । वीरेन्द्रनगर नगरपालिका–१, बाङ्गेसिमलमा बसपार्क निर्माण गर्ने गरी सामुदायिक वनको जग्गासमेत छनोट भइसकेको छ । प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने उक्त योजना हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । गत आव २०८१/८२ मा योजना निर्माणका लागि बजेट नै विनियोजन भएन । बढ्दो सवारी चाप व्यवस्थापनमा महत्वपूर्ण आयोजनाका रूपमा हेरिएको योजना सफल हुन सकेको छैन । सफल हुन नसकेको उक्त योजना अघि बढाउन प्रदेश सरकारले यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा पुनः समेटेको छ ।

राजधानीको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न कर्णाली बसपार्कको योजना ल्याइएको हो । आव २०८०/८१ मा डिपिआर निर्माण गरिएको हो । आइइई निर्माणको काम वीरेन्द्रनगर नगरपालिकाले गर्ने भएको छ । अहिले उक्त योजना कार्यान्वयनमै अन्योल देखिएको छ । डिपिआर पूर्वाधार विकास निर्देशनालयले निर्माण गरेको छ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) वीरेन्द्रनगर नगरपालिकाले निर्माण गर्ने छ । वीरेन्द्रनगर नगरपालिकाको पहलमा कर्णाली बसपार्क निर्माणको योजना अघि बढाइएको हो । एउटै आयोजनाका दुई वटा निकायले अध्ययनको काम गर्दा समय धेरै लाग्ने तथा कार्यान्वयनमा चुनौती हुने देखिएको छ । यो वर्ष योजना कार्यान्वयनमा बजेट पूर्वाधार विकास निर्देशनालयमा गएको छ । 

कार्यक्रम कार्यान्वयनका लागि दुई करोड बजेट विनियोजन गरिएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीले बताउनुभयो । न्यून बजेट र कार्यक्रमको दोहोरोपनाले कार्यान्वयनमा समस्या देखिएको उहाँको भनाइ छ । प्रदेश सरकारले हचुवाका भरमा कार्यक्रम घोषणा गर्दा कार्यान्वयनमा समस्या देखिने गरेको छ । प्रदेश राजधानीमा व्यवस्थित बसपार्क बन्न सकेको छैन । जसले गर्दा यात्रुले दैनिक रूपमा सास्ती खेपिरहनु भएको छ । त्यसैको समाधानका लागि अब बन्ने कर्णाली बसपार्क प्रविधिमैत्री बन्ने गरी निर्माण गर्ने योजना सारिएको हो ।

प्रदेश राजधानीको नगरपालिका भएकाले पनि दिनहुँ उत्पन्न हुने समस्याको समाधान गर्नका लागि प्रविधिमैत्री बसपार्क निर्माणको योजना बुनिएको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । अहिले सुर्खेत बसपार्क व्यवस्थित बन्न नसकेको भन्दै पालिकालाई प्रश्न उठिरहेको छ । नगरपालिकाले योजना कार्यान्वयन गर्ने भनेको भए पनि कार्यान्वयनमा समस्या देखिएको छ ।