जुम्ला समाचारदाता
जुम्ला, कात्तिक २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तयारीका लागि जुम्लामा तयारी थालिएको छ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्ने उद्देश्यले जिल्लास्तरीय विभिन्न निकायसँग छलफलसहित आवश्यक तयारी थालिएको हो ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्त प्रमुख नारायणी आचार्यले जिल्लामा मतदान केन्द्र पुनरवलोकन समितिको बैठक सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको केन्द्रीय तालिका अनुसार जिल्लामा पनि निर्वाचनको तयारी थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि स्थानीय प्रशासनसहित सुरक्षा निकायसँग मतदाता नामावली, मदतान केन्द्रको विषयमा बैठकमा छलफल भएको छ ।
बैठकले मतदाता नामावली सच्याउने, थप्ने विषय र मतदान केन्द्रको थपघटको विषयमा छलफल भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जानकारी दिनुभएको छ । मतदान केन्द्रको विषयमा गाउँपालिका, वडास्तरबाट सुझावका लागि पठाइएको र सुझाव आएपछि बैठक बसेर निष्कर्षमा जानेमा जोड दिनुभयो । बैठकमा राजनीतिक दलले मतदाता नामावली र केन्द्रका विषयमा सबैले सहयोग गर्ने बताएका छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीसहित जिल्लास्थित राजनीतिक दलको सहभागिता रहेको थियो । बैठकमा जनप्रतिनिधिका तर्फबाट निर्वाचन सम्पन्न गर्नका लागि गर्नुपर्ने जिम्मेवारीमा पछि नहट्ने बताइएको थियो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले निर्वाचन तयारीका विषयमा जनप्रतिनिधि र राजनीतिक दल सबैको सहयोग हुने प्रतिबद्धता जनाएको बताउनुभयो । उहाँले मतदाता र मतदान केन्द्रका विषयमा जिल्ला निर्वाचन कार्यालयले प्रस्तुत गरेको एजेन्डामा सबै सहमत भएका छन् ।
यता जिल्ला निर्वाचन कार्यालयमा अहिले मतदाता भर्ने नागरिकको सङ्ख्या बढिरहेको छ । विसं २०७९ को निर्वाचनमा जम्मा ६८ हजार ७४४ जुम्लामा मतदाता थिए । यस पटक पछिल्लो समय झन्डै छ सय मतदाता थपिएका छन् । मतदाता नामावली दर्ताका लागि दैनिक जसो भिड बढिरहेको छ ।