कृष्णबहादुर धामी
खलङ्गा (दार्चुला), कात्तिक २३ गते । चीनको ताक्लाकोट नाका जोड्ने सडकका रूपमा रहेको लास्कुगाडखोला पुल र निजाङ्गगाड खोलामा निर्माण गरिएको मोटर पुल बाढीले बगाएको पाँच वर्ष बितिसक्दासमेत पुनर्निर्माण हुन सकेको छैन । महाकाली कोरिडोर अन्तर्गत पर्ने दार्चुला–टिङ्कर सडकस्थित सदरमुकाम खलङ्गानजिकै रहेको सो पुलको पुनर्निर्माण नहुँदा यस क्षेत्रका नागरिक तथा सवारीसाधन जोखिम मोलेर खोला तरेर यात्रा गर्न बाध्य छन् । खोला तरेर यात्रा गर्दा दुर्घटना हुने जोखिम रहेको दुहुँ गाउँपालिका–२, हिकिलाका स्थानीय प्रेमराज जोशीले बताउनुभयो ।
सो क्षेत्र भएर यात्रा गर्ने युवालाई भन्दा बालबालिका र वृद्धवृद्धालाई बढी जोखिम रहेको उहाँले बताउनुभयो । बर्सातको समयमा खोलामा पानीको बहाब बढी हुने हुँदा सवारीका साधन समेत चल्न नसक्ने उहाँको भनाइ छ ।
पुल अभावमा खोलाबाट सवारीसाधन चलाउँदा दुर्घटना हुन सक्ने जोखिम अध्यधिक रहने जिपचालक नीरज समालले बताउनुभयो । सदरमुकाम खलङ्गाबाट व्यास र दुहुँ गाउँपालिकासम्मको क्षेत्रमा पूरै कच्ची सडक छ । २०७९ भदौ २४ गते लास्कुखोलामा आएको बाढीले निर्माण भएर भुक्तानी हुन बाँकी मोटर पुल बगाएको थियो भने २०७८ भदौ १३ गते निजाङ्गखोलामा आएको बाढीले निजाङ्गखोलाको मोटर पुल बगाएको थियो । ती दुई स्थानका पुलको पुनर्निर्माण हालसम्म पनि हुन नसकेको नागरिक समाज दार्चुलाका अध्यक्ष महेशराज भट्टले बताउनुभयो ।
महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) योजना सूचना अधिकारी एवं ) इन्जिनियर रामचन्द्र जैसीका अनुसार बाढीका कारण क्षति भएको पुलको पुनर्निर्माणका लागि विशेषज्ञबाट स्थलगत अध्ययन गराई पुनर्निर्माण गर्नुपर्ने भएको छ । सडक विभागको पुल महाशाखाबाट अध्ययन गराएर प्रतिवेदन पेस गर्न योजनाको कार्यालयलाई निर्देशन भइसकेको उहाँले जानकारी दिनुभयो । योजना प्रमुख कार्यालयमा हाजिरी भएपछि परामर्शदातासँग सम्झौता गरेर पुलको पुनर्निर्माणका लागि अध्ययन गरिने उहाँले बताउनुभयो । हाल योजनाको कार्यालय प्रमुखविहीन अवस्थामा छ । निजाङ्गगाड खोला पुलको पुनर्निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख रुपियाँ बजेटको व्यवस्थापन भएको पनि उहाँले बताउनुभयो ।