• २३ कात्तिक २०८२, आइतबार

खेलकुद विकास समिति बागलुङले पायो सरकारी ओत !

blog

अर्जुन कार्की
काठेखोला (बागलुङ), कात्तिक २३ गते ।
जिल्ला सदरमुकाममा कार्यालय नपाएपछि काठेखोला गाउँपालिकामा सारिएको जिल्ला खेलकुद विकास समिति बागलुङको कार्यालय पुनः बागलुङ बजारमा सारिएको छ ।

जिल्ला समन्वय समिति बागलुङको कार्यालयले कोठा (सरकारी भवन) उपलब्ध गराएपछि शुक्रबारदेखि कार्यालय जिल्ला सदरमुकाममा सारिएको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्ण प्रसाद कंडेलले जानकारी दिनुभयो । खेलकुद समितिलाई कार्यालय व्यवस्थापनका लागि जिल्ला समन्वय समिति बागलुङले आफ्नै भवनमा दुई वटा कोठा उपलब्ध गराएको छ ।

गत असोज अन्तिम साता सदरमुकाममा भाडा तिर्नका लागि रकम अभाव भएको र सरकारी कार्यालय भवनमा कोठा नपाएको भन्दै काठेखोला गाउँपालिका–५ बिहुँस्थित बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको कबर्डहलमा कार्यालय सारिएको थियो । सरोकारवाला निकायसँग समन्वय गरेपनि कुनै निकाश ननिक्ले पछि दबाबका लागि काठेखोलामा कार्यालय सारिएको अध्यक्ष कंडेलले बताउनुभयो ।

“खेलकुद विकास समिति स्थापनादेखि भाडाको कोठाबाटै कार्यालय सञ्चालन भइरहेको थियो,” अध्यक्ष कंडेलले भन्नुभयो, “गण्डकी प्रदेश खेलकुद परिषदले भाडा उपलब्ध गराउँदै आएपछि पछिल्लो समय भाडा उपलब्ध नगराएको र सरकारी कार्यालयमा कोठा उपलब्ध गराउन पहल गर्दा पनि सुनुवाई नभएपछि दबाबका लागि काठेखोला सारिएको थियो । अहिले जिल्ला समन्वयले कोठा दिएपछि जिल्ला सदरमुकाममा सारिएको छ ।”

काठेखोलामा कार्यालय सारेपछि सामाजिक सञ्जाल र दबाब सिर्जना भएपछि जिल्लाका सरोकारवाला, राजनीतिज्ञ र खेलकुद विकास समितिको पहलमा समन्वय समितिको कार्यालयमा कोठा व्यवस्थापन भएको अध्यक्ष कंडेलले बताउनुभयो ।

सरकारी कार्यालयमै कार्यालय व्यवस्थापन गरिएपछि वर्षौदेखिको समस्या समाधान भएको सचिव किशोर छन्त्यालले बताउनुभयो । जिल्ला खेलकुद विकास समिति बागलुङमा जिम्नेष्टीक, उसु र तेक्वान्दोका अधिकृत तहका तीन जना प्रशिक्षकहरु कार्यरत हुनुहुन्छ ।

समितिले जिल्लाभरका खेलकुद गतिविधि समन्वय गर्ने र राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।