• २३ कात्तिक २०८२, आइतबार

शिथिल पर्यटन तङ्ग्रिँदै

blog

नेपाल पर्यटन बोर्डले सन् २०२५ मा १६ लाख विदेशी पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राखेको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको जनधनको क्षति र विध्वंसले पर्यटन क्षेत्रमा समेत आघात पा¥यो । आन्दोलनअघि नेपालमा प्रत्येक दिन औसतमा तीन हजार दुई सयको सङ्ख्यामा पर्यटक आउँथे । अहिले त्यो सङ्ख्या एक हजार तीन सयमा झरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । होटल सङ्घ (हान) ले आन्दोलनबाट पर्यटन क्षेत्रले करिब २५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति बेहोरेको प्रारम्भिक अनुमान गरेको छ । रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको योगदान १० प्रतिशतभन्दा बढी रहेको अवस्थामा भएको यो क्षतिले देशलाई आर्थिक सङ्कटतर्फ धकेल्ने चिन्ता थपिएको छ । रात गए अग्राख पलाउँछ भने झैँ पछिल्लो समय यस क्षेत्रमा केही आशाका किरण देखिएका छन् । 

आन्दोलनपछि सुस्ताएको नेपालको पर्यटन पुनः फस्टाउन थालेको छ । अहिले परिस्थिति सामान्य भइसकेको र पर्यटन, व्यापार, लगानीलगायतका आर्थिक गतिविधि पूर्ववत् सञ्चालनमा आइसकेका छन् । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क आएसँगै पर्यटन व्यवसायले आफ्नो लय समात्ने आशा पलाएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जनवरीदेखि अक्टोबरसम्मको १० महिनामा कुल नौ लाख ४३ हजार ७१६ पर्यटक नेपाल भित्रिएका छन् । 

पर्यटकीय दृष्टिले यो सिजन आकर्षक मानिने हुँदा नेपाल भ्रमणका लागि पर्यटकको आवागमन उल्लेख्य देखिएको हो । आन्दोलन लगत्तै नेपाल आउने पर्यटकको सङ्ख्यामा करिब ४० प्रतिशतले कमी आएको थियो भने होटल बुकिङ ७० प्रतिशतबाट ३० प्रतिशतमा झरेको थियो । आन्दोलनका क्रममा कुनै पनि विदेशी पर्यटकलाई लक्षित नगरिएको तथा पर्यटकको सुरक्षामा उच्च सतर्कता अपनाइएको सन्देश अन्तर्राष्ट्रियस्तरमा प्रवाह भएको कारण पर्यटन आवागमनमा थप ह्रास हुन पाएन । 

जेनजी पुस्ताले सरकारले उत्तरदायित्व, सुशासन, पारदर्शितासहितको शासन व्यवस्था र भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्नेमा जोड दिएका छन् । रोजगारी सिर्जना र चुस्त एवं प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा गरेका छन् । पर्यटन प्रवर्धनका लागि त्यसका प्राप्ति उत्तिकै जरुरी छ । वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिल (डब्ल्युटिटिसी) को विवरण अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान करिब आठ प्रतिशत छ भने वैदेशिक मुद्रा आर्जनको दोस्रो मुख्य स्रोतका रूपमा रहेको छ । वार्षिक रूपमा तीन खर्ब रुपियाँ योगदान यस क्षेत्रलाई सहज, सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सके मात्र यसबाट लाभ लिन सकिन्छ । 

सरकारले पर्यटन प्रवर्र्धनमा दशकौँदेखिको प्रयास जारी राखेको छ तर अपेक्षित प्रगति हात लागेको छैन । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको थियो । भ्रमण वर्ष सुरु नहुँदै विश्वमा कोरोना फैलिएर सो वर्ष मुस्किलले दुई लाख ३० हजार मात्र पर्यटक नेपाल भित्रिए । सरकारले सन् २०२५ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाइहेकोमा हालसम्म्म नौ लाख पर्यटक मात्र नेपाल भित्रिए । नेपालले सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो भने सन् २०३२ सम्ममा ३५ लाख पु¥याउने लक्ष्य अघि सारेको छ । वार्षिक रूपमा १० लाखको हाराहारी मात्र पर्यटक नेपाल आउने गरेका छन् । 

सरकारले एक दशकमा पर्यटन क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा १० प्रतिशत योगदान पु¥याउने लक्ष्य राखेको छ । पर्यटन दशकको अवधारणापत्रमा पर्यटकको बसाइ २० दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च पनि एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य छ । आर्थिक सवेक्षण २०७८/७९ अनुसार सन् २०२१ मा पर्यटकको औसत बसाइदर १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ डलर रहेको थियो । नेपालको पर्यटन नीति २०६५, पर्यटन ऐन २०३५ तथा विभिन्न समयमा भएका संशोधनले पर्यटनको विकास गरी जनताको आर्थिक हित कायम राख्न र नेपालमा आउने बाह्य तथा आन्तरिक पर्यटकको स्वास्थ्य, सुविधा र हितको निमित्त आवश्यक व्यवस्था गर्न प्राथमिकता दिएका छन् । 

यसै गरी अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र, काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, गोरखा, त्रिशूली, इलाम, बर्दिया आदि स्थानमा पर्वतारोहण, दृश्यावलोकन, पदयात्रा, बिदा मनाउन, मनोरञ्जन, तीर्थ पर्यटन विभिन्न पर्यटकीय गतिविधि सुरु भएका छन् । हाल नेपाल विश्वमा प्राकृतिक सुन्दरता, अद्वितीय संस्कृति तथा साहसिक पर्यटनका लागि महìवपूर्ण गन्तव्यको रूपमा परिचित छ । 

विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख स्रोत रहेको पर्यटन नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण आधार हो, जसले पर्यटनले गरिबी निवारण, रोजगारी सिर्जना र देशको विकासमा योगदान पु¥याएको छ । पर्यटन क्षेत्रको लगानी खेर जान नदिन र त्यससँग आश्रित हजारौँको रोजगारीको समेत संरक्षण गर्न सरकार तथा निजी क्षेत्रको समन्वयमा साझा प्रयास थाल्नु आवश्यक छ । यसो गरेमा नागरिकमा देश घुम्ने संस्कृतिको विकास भई देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षण र समृद्ध मुलुक निर्माणको आधारशिला तयार हुन्छ । 

पर्यटनबाट तुलनात्मक रूपमा लाभ लिन नीति तथा कार्यक्रममा उल्लिखित पर्यटन प्रवर्धनका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्छ । विदेशस्थित कूटनीतिक नियोगले अन्तर्राष्ट्रियस्तरमा नेपाल पर्यटकीय दृष्टिले अति सुन्दर, आकर्षक, अद्भुत र अलौकिक छ भन्ने प्रचार गर्न सक्नु पर्छ । सरकारले अन्दोलन पछि खुम्चिएको पर्यटन व्यवसायमा टेवा पु¥याउन सक्ने खालका कार्यक्रम ल्याउनु पर्छ । नयाँ पर्यटकीय स्थलको विकास गरी व्यापक प्रचारप्रसार गर्नु पर्छ । पर्यटनसँग सम्बन्धित जनशक्ति उत्पादनका लागि तालिम, सम्पदा संरक्षण र प्रवर्धन, पर्यटन पूर्वाधार योजना तर्जुमा, अनुगमन र नियमनका साथै नयाँ गन्तव्यको खोजी र विकासलाई प्राथमिकता दिनु पर्छ । पर्यटन विकास वैज्ञानिक, सिर्जनात्मक, योजनाबद्ध, र नतिजामुखी बनाउनु पर्छ । नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षाका लागि आवास, बैङ्क, खानपान, सञ्चार, यातायात आदि सुविधाको उचित प्रबन्ध मिलाउन सक्नु पर्छ ।