अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक २३ गते । मंगल गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी लगातार दोस्रो पटक महेन्द्र रत्न माध्यमिक विद्यालयले जितेको छ ।
बिहीबार सुरु भएर शनिबार सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र तीन काँस्यसहित कुल १९ पदक प्राप्त गर्दै महेन्द्ररत्न माध्यमिक विद्यालयले उपाधी जितेको हो । त्यसैगरी सात स्वर्ण सात रजत र छ काँस्यसहित २० पदक जित्दै मंगला माध्यमिक विद्यालय दोस्रो हुँदा पाँच स्वर्ण दुई रजत र पाँच कास्यसहित १२ पदक जितेर शिशुकल्याण माध्यमिक विद्यालय अर्मन तेस्रो भएको छ ।
विजेता महेन्द्र रत्न माध्यमिक विद्यालयले ५० हजार नगतसहित रनिङ शिल्ड प्राप्त गर्दा उपबिजेता मंगला माध्यमिक विद्यालयले नगद ३० हजार र तेस्रो हुने शिशुकल्याण माध्यमिक विद्यालयले नगद २० हजार रुपियाँ प्राप्त गरेका छन् ।
३० स्वर्ण पदकका लागि भएको प्रीतयोगितामा तीन स्वर्ण पाँच रजत र दुई कास्य गरी १० पदक जितेको डनिङ बोर्डीङ स्कुल बाबियाचौर चौथो, दुई स्वर्ण र चारचार रजत र कास्य सहित १० पदक जितेको दिपशिखा माध्यमिक विद्यालय कुँहु पाँचौं हुँदा दुई स्वर्ण, तीन रजत र छ कास्य गरी ११ पदक सहित शारदा माध्यमिक विद्यालय छिस्वाङले छैठौं स्थान प्राप्त गरेको थियो ।
राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयले एक स्वर्ण र एक रजत प्राप्त गर्दा त्रिभुवन मंगला माध्यमिक विद्यालय र्यालेखोरले दुईदई रजत र काँस्य पदक पाएको छ । शिद्धशान्ति माध्यमिक विद्यालय हिदीले दुई कास्य पदक प्राप्त गरेका छ । त्यसैगरी उद्घाटनका दिन भएको मार्चपासमा मंगला माध्यमिक विद्यालय उत्कृष्ट स्थान हासिल गरेको छ ।
त्यस्तै एथलेटिक्स विधा तर्फ महेन्द्र रत्न माध्यमिक विद्यालयका विवेक नेपालीले तीन स्वर्ण र एक रजत पदक प्राप्त गर्दै उत्कृष्ट खेलाडी बनेका छन् । त्यस्तै छात्रा तर्फ शिशुकल्याण माध्यमिक विद्यालय अर्मनकी थमसरा रोकाले ३ स्वर्ण प्राप्त गर्दै उत्कृष्ट खेलाडी बनेकी छिन् ।
त्यस्तै उत्कृष्ट खेलाडीहरुमा भलिबल तर्फ शिशुकल्याण माविका हेमन्त बुढाथोकी, मंगला माध्यमिक विद्यालयकी एन्जिला किसान उत्कृष्ट खेलाडी बन्दा कबड्डी तर्फ मंगला माविका बिना सापकोटा र महेन्द्ररत्न माविका बिकल बुढाले आफूलाई उत्कृष्ठ खेलाडी साबित गरेका छन् ।
महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटाले खेलाडीहरुले गरेको मेहनत अनुसारकै नतिजा प्राप्त भएकोमा उत्साहीत भएको जानकारी गराउनुभयो ।