• २३ कात्तिक २०८२, आइतबार

किसानको धानमा व्यापारीको कार्टेलिङ

blog

लुम्बिनी प्रदेश ब्युरो

लुम्बिनी, कात्तिक २३ गते । सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य तोके पनि लुम्बिनी प्रदेशका किसान तोकिएको दरमा धान बिक्री गर्न नसकी बाध्यतावश सस्तोमा व्यापारीलाई बेच्नु परेको गुनासो गर्दै आएका छन् । बाँके, दाङ, बर्दिया, कपिलवस्तु र पश्चिम नवलपरासीका किसानका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढिलो गरी खरिद सुरु गर्दा र बजारमा सरकारी नियमन नहुँदा उनीहरू नोक्सानीमा परेका छन् ।

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपियाँ ३३ पैसा तोकेको छ । मूल्य त तोकियो तर तोकिएको मूल्यमा धान खरिद गर्न सरकारी स्वामित्वका खरिद कम्पनीले खासै सक्रियता देखाएका छैनन् । धान खरिद गर्ने व्यापारी भने मिलीजुली धानको समर्थन मूल्यलाई चुनौती दिँदै सस्तोमा खरिद गरिरहेका छन् ।

बाँकेमा धान खरिदमा ढिलाइ 

बाँकेमा व्यापारीले निर्धारित मूल्यभन्दा करिब नौ सय रुपियाँ कममा धान खरिद गरिरहेका छन् । खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बाँकेले आइतबारदेखि मात्र खरिद सुरु गर्ने जनाएको छ । यस वर्ष बाँकेमा २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य तोकिएको छ, जसमा १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिद गरिने छ ।

किसान राजन मौर्यका अनुसार सरकारले मूल्य तोके पनि हालसम्म खरिद सुरु नभएकाले किसानले व्यापारीलाई सस्तोमा बेच्न बाध्य छन् । नौबस्ताका किसान शङ्कर थारूले पनि सरकारले तोकेको मूल्य नपाउँदा आफूहरू मर्कामा परेको बताउनुभयो । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यस वर्ष जिल्लामा धान उत्पादनमा १५ हजार मेट्रिक टनले वृद्धि भएको छ । गत वर्ष एक लाख ४५ हजार मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष एक लाख ६० हजार मेट्रिक टन धान उत्पादन भएको हो । 

दाङका किसानले तोकेको मूल्य पाएनन् 

दाङका किसानले पनि समर्थन मूल्यभन्दा कममा धान बिक्री गर्न बाध्य भएका छन् । घोराही उपमहानगरपालिका–५ का किसान मोहन वलीले गाउँमै व्यापारीलाई दुई हजार सात सय रुपियाँ क्विन्टलका दरले धान बेचेको बताउनुभयो । त्यस्तै कर्जाहीका किसान जगत चौधरीले दुई हजार छ सय रुपियाँ क्विन्टलमा धान बिक्री गरेको बताउनुभयो । व्यापारी झग्गु गौतमका अनुसार उनीहरूले मोटा धान दुई हजार छ सय र मसिनो धान तीन हजार एक सय रुपियाँमा खरिद गरिरहेका छन् । खाद्य कम्पनी तुलसीपुरले भने देउखुरी क्षेत्रका तीन पालिकाबाट मात्रै पाँच हजार क्विन्टल धान खरिद गर्ने तयारी गरेको जनाएको छ, जसले टाढाका किसानलाई अझ कठिनाइ छ ।

कपिलवस्तुमा पनि उस्तै समस्या

कपिलवस्तुका किसानले पनि समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । किसान रमेश्वर भुजका अनुसार व्यापारीले मोटा धान दुई हजार छ सय र मसिनो धान तीन हजार तीन सय रुपियाँमा खरिद गर्दै छन् । किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले समर्थन मूल्य लागु नगरेकाले किसान बिचौलियाको मारमा परेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार भैरहवास्थित खाद्य व्यापार सङ्गठनसँग समर्थन मूल्यमा खरिदबारे छलफल भइरहेको छ ।

बर्दियामा धान बेच्नै सकस 

बर्दियामा पनि किसानहरू तोकिएको मूल्यभन्दा करिब आठ सय रुपियाँ कममा धान बेच्न बाध्य छन् । खाद्यव्यवस्था कम्पनी राजापुरले ढिलो खरिद सुरु गरेपछि किसान झन् समस्यामा परेका छन् । केही स्थानीय तह र सहकारी संस्थाले सीमित मात्रामा खरिद सुरु गरे पनि धेरै किसानले सस्तोमा धान बिक्री गर्नु परेको छ ।

नवलपरासीका किसान निराश

पश्चिम नवलपरासीका किसान पनि समान समस्यामा छन् । गत वर्ष तीन हजार नौ सय रुपियाँसम्म धान बिक्री गर्ने किसानले यस वर्ष तीन हजार तीन सयदेखि तीन हजार चार सय रुपियाँमै धान बेच्न बाध्य भएका छन् । रामग्राम–१२ का किसान रामरस चौधरीले सरकारले तोकेको न्यूनतम मूल्य पनि नपाउँदा खेती गर्ने उत्साह घटेको बताउनुभयो । धान उत्पादन बढ्दो भए पनि समर्थन मूल्यमा खरिद सुरु नगर्दा किसान आर्थिक सङ्कटमा परेका छन् । उनीहरूले सरकारसँग तत्काल समर्थन मूल्यमा धान खरिद सुरु गर्न, बिचौलियामाथि निगरानी बढाउन र खाद्य कम्पनीका खरिद केन्द्र गाउँ गाउँमा स्थापना गर्न माग गरेका छन् । 

(सिराज खान–नेपालगन्ज, लीलाधर वली–घोराही, नारद काेहार–तौलिहवा, यज्ञप्रसाद सापकोटा–बर्दिया र विकास अधिकारी–पश्चिम नवलपरासी)