गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २३ गते । आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीको समस्या समाधान हुने भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न पेसागत
सङ्घ संस्थाबिच भएको वार्तापछि तीनबुँदे सहमति भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आन्दोलनरत पक्षसँग तीनबुँदे सहमति भएको जानकारी दिनुभयो । नर्सले पारिश्रमिकलगायत सेवा सुविधा वृद्धि माग गर्दै आन्दोलन चर्काउँदै आएका थिए ।
नेपाल नर्सिङ सङ्घलगायतका सरोकारवाला प्रतिनिधिले सहमति गरे पनि सङ्घर्ष समितिका तर्फबाट थप आन्दोलन गर्ने घोषणा भएको थियो ।
प्रवक्ता बुढाथोकीका अनुसार नेपाल सरकारले तोकेको पारिश्रमिक र सेवा सुविधा अब सबै स्वास्थ्यकर्मीका लागि लागु हुने, यसले देशभरका सरकारी, सामुदायिक र निजी अस्पतालदेखि औषधी उत्पादक कम्पनी र शिक्षण संस्थासम्म कार्यरत स्वास्थ्यकर्मीको माग सम्बोधन हुने बताउनुभयो । यस्तै नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा सुविधा कार्यान्वयन गराइने, यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक निर्देशन र समन्वय गर्ने सहमतिमा उल्लेख छ ।