• २१ कात्तिक २०८२, शुक्रबार

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

blog

काठमाडौँ, कात्तिक२१ गते ।  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ ।

यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि भइसकेको कामपाले जानकारी दिएको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले आगामी दिनमा आधारभूत स्वास्थ्य सेवाअन्तर्गत आयुर्वेदिक औषधि वितरणमा सहज हुने विश्वास रहेको बताउनुभयो ।

कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार अहिले कामपाले सञ्चालन गरेको आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले निःशुल्क वितरणका लागि तोकेका औषधि वैद्यखानाबाट उपलब्ध भएसम्म त्यहीँबाट प्राप्त गर्ने तयारीका साथ सम्झौता अघि बढाइएको हो ।

कामपाले यसअघि नै यस्तै प्रकारको सहकार्य नेपाल औषधि लिमिटेडसँग पनि गरिसकेको ओलीले जानकारी दिनुभयो । सम्झौताबमोजिम वैद्यखानाले औषधिको ७५ प्रतिशतसम्म उपभोग अवधि बाँकी रहेका औषधि माग भएको सात दिनभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

उक्त औषधि नै कामपाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क रूपमा वितरण गर्ने जनाएको छ । यस्तै वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले औषधिको गुणस्तरीयतामा संवेदनशील भएर माग पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । रासस