वासिङ्टन, कात्तिक १९ गते । पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागुऔषध ओसार-पसार गर्ने डुङ्गालाई लक्षित गरी अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको रक्षा सचिव पीट हेग्सेथले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।
राष्ट्रपति (डोनाल्ड) ट्रम्पको निर्देशनमा, युद्ध विभागले एक नामित आतंकवादी सङ्गठनद्वारा सञ्चालित जहाजमा घातक आक्रमण गरेको जहाजले लागुऔषध बोकेको दाबी गर्दै हेग्सेथले आफ्नो पोस्ट मार्फत जनाउनु भएको छ । आक्रमणमा कुनै अमेरिकी सेना प्रभावित नभएको उल्लेख गर्दै आतंककारीको डुङ्गामा सवार दुई जनाको मृत्यु भएको जनाउनु भएको छ ।
सेप्टेम्बर २ देखि, अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्तमा १७ डुङगामा आक्रमण गर्दा ६६ जनाको मृत्यु भएको दाबी गरेको छ । ट्रम्प प्रशासनले अगस्ट देखि क्यारिबियनमा आफ्नो सैन्य उपस्थिति पनि विस्तार गरेको छ । शुक्रबार ट्रम्पले आफ्नो प्रशासनले भेनेजुएलाका सैन्य सुविधामा आक्रमण गर्ने मिडिया रिपोर्टको खण्डन गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाभित्र भूमि आक्रमण गर्ने कि नगर्ने भन्नेबारे अझै निर्णय नगरेको बताउनु भएको थियो ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले भने बारम्बार आफ्नो सरकारलाई अपदस्थ गर्ने र ल्याटिन अमेरिकामा अमेरिकी सैन्य प्रभाव विस्तार गर्ने प्रयासको स्वरूपको वाशिंगटनको कार्यको निन्दा गर्नु भएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले गत महिना समुद्रमा लागुऔषध संदिग्धको हत्या अमेरिकी सरकारले गरेको आरोप लगाउनु भएको छ । रासस/सिन्ह्वा