• १० पुस २०८१, बुधबार

मार्कोसको उदय

blog

फिलिपिन्सका तानाशाह पूर्वराष्ट्रपति फर्निनान्ड मार्कोसका छोरा फर्निनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

६४ वर्षीय मार्कोस जुनियर पूर्वसिनेटर हुन् । चुनावमा तालमेल गरेकाले दुवैको जित सम्भव भयो । गएको मे ९ मा त्यहाँ आमनिर्वाचन भएको थियो । राष्ट्रपतिमा निर्वाचित मार्कोस जुनियरले आफ्ना निकटतम प्रतिस्पर्धीको भन्दा दोब्बर अर्थात् ५६ प्रतिशत मत पाए ।

त्यहाँको राजनीतिमा अब मार्कोस र डुटेर्टे परिवारको प्रभाव देखाएको छ । मार्कोस जुनियरको जितसँगै फिलिपिन्समा ३६ वर्षपछि मार्कोस परिवार पुनः सत्तामा आएको छ । फर्डिनान्ड मार्कोस सन् १९६५ मा राष्ट्रपति बनेका थिए । क्रुर शासकका रूपमा परिचित उनले सन् १९७२ मा सैनिक कानुन जारी गरी आफ्नो आलोचना गर्ने तथा फरक मत राख्ने हजारौँ मानिसको ज्यान लिए ।


सन् १९८६ को विवादास्पद चुनावपछिको जनविद्रोहका कारण सत्ताच्यूत भएपछि मार्कोस आफ्नो श्रीमती इमिल्लासहित अमेरिका भागेका थिए । देश छाडेर भाग्ने क्रममा मार्कोस दम्पतीले १० अर्ब अमेरिकी डलर बराबरको नगद, गहना तथा अन्य बहुमूल्य सामग्री लिएर गएको बताइएको थियो । सन् १९८९ मा मार्कोसको मृत्यु भयो । सन् १९९१ मा उनको परिवार फिलिपिन्स फक्र्यो । मार्कोस परिवारबाट सन् २०१३ मा चार अर्ब बराबरको सम्पत्ति मात्र असुल गरिएको थियो ।

नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियर गरिबी घटाउनेदेखि लोकतन्त्रलाई थप सुदृढ बनाउने लगायतका प्रतिबद्धतासहित प्रतिस्पर्धामा उत्रेका थिए । त्यस्तै कोरोना सङ्क्रमणका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउने लगायतका विषय उनका प्रमुख एजेन्डा थिए ।

फिलिपिन्स सात हजारभन्दा बढी टापु मिलेर बनेको छ । दक्षिणपूर्वी एसियाली यो मुलुक ती सय ३३ वर्ष स्पेनको उपनिवेश रह्यो । स्पेनका राजा फिलिपको नामबाट यो देशको नाम फिलिपिन्स रहन गएको हो । यो देशको नामले नै उपनिवेशको चङ्गुलमा परेको जनाउँछ । यो देशमा प्राचीनकालमा भारतीय हिन्दु प्रभाव पनि पुगेको थियो । चौधौँ शताब्दीमा इस्लामिक प्रभावले छोयो । जुन प्रभाव फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दनाओमा अझै छँदैछ ।

सोह्रौँ शताब्दीदेखि फिलिपिन्समा स्पेनले उपनिवेश कायम ग-यो । उपनिवेश भनेको आर्थिक र राजनीतिक सत्ता कब्जा गर्ने मात्र होइन धार्मिक तथा सांस्कृतिक रूपान्तरण पनि हो । फिलिपिन्समा स्पेनको लामो औपनिवेशिक शासन सन् १८९८ सम्म रह्यो । धान रोप्ने, माछा मार्ने, नाचगान गरेर रमाउने टापुवासीलाई क्रिश्चियनकरण गरियो ।

त्यहाँ स्वाधीनता आन्दोलन त सुरु भयो तर स्पेनी उपनिवेशको पञ्जाबाट फुत्किएको फिलिपिन्स फेरि करिब ५० वर्ष अमेरिकाको उपनिवेश बन्न पुग्यो । दोस्रो विश्वयुद्धमा केही वर्ष जापानको पनि उपनिवेश बन्यो । विश्वयुद्धको समाप्तिपश्चात् सन् १९४६ मा फिलिपिन्स संयुक्त राष्ट्रसङ्घको सदस्य बन्दै स्वतन्त्र मुलुक बन्यो । फिलिपिन्सले राजनीतिक स्वतन्त्रता प्राप्त गरे पनि उपनिवेशकालको धार्मिक तथा सांस्कृतिक विरासत अहिले पनि बोकिरहेको छ ।

१० करोड जनसङ्ख्या भएको फिलिपिन्समा ९२ प्रतिशत क्रिश्चियन धर्मावलम्बी छन् । अङ्ग्रेजी र फिलिपिनो सरकारी कामकाजको भाषा हो । मनिलाको बन्दरगाहमा प्राचीनकालदेखि व्यापारिक पानीजहाजको आवत–जावत हुँदै आएको छ । प्रशान्त महासागरको पश्चिमी सीमामा अवस्थित फिलिपिन्सको सामरिक महìव बुझेर नै अमेरिकाले यहाँ कब्जा जमाएको थियो । मनिलामा विभिन्न समयमा सामुद्रिक लडाइँ भएको पनि इतिहासमा भेटिन्छ ।

वकालत पेसाबाट राजनीतिमा आएका वर्तमान राष्ट्रपति डुटेर्टेे आफ्नो शासनकालमा राष्ट्रवादी बन्न खोजे । उनी सन् २०१६ देखि राष्ट्रपति बनेका हुन् । उनी फिलिपिन्सको डभाओ सहरमा मेयर हुँदा अपराधी र लागूऔषध कारोबारीप्रति निर्मम कारबाही चलाएर लोकप्रिय भएका थिए । राष्ट्रपति भएपछि डुटेर्टेले अपराधी र लागूऔषध कारोबारीको सफाया गर्ने देशव्यापी अभियान चलाए ।  सात हजार अपराधी र लागूऔषध कारोबारीलाई इन्काउन्टर गरी मारियो । यसमा निर्दोष नागरिक पनि परे । जसले गर्दा पछिल्ला दिनमा उनको आलोचना भयो ।

अमेरिकी संविधानको अनुशरण गरिएको फिलिपिन्समा राष्ट्रपति नै राज्य प्रमुख, सरकार प्रमुख र सेनाको सर्वोच्च कमान्डर हुन्छ । जनताको प्रत्यक्ष मतबाट कार्यकारी राष्ट्रपति चुनिन्छ, छ वर्षका लागि तर कुनै व्यक्ति एक पटकभन्दा बढी राष्ट्रपतिमा चुनिन पाउँदैन ।

लागूऔषध कारोबारी, हत्यारा, बलात्कारी, डकैतीजस्ता सङ्गीन अपराध गर्नेलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्छ भन्ने डुटेर्टेको चुनावी मुद्दा थियो तर आफ्नो शासनकालमा मृत्युदण्ड दिने कानुन बनाएनन् । तर उनले भ्रष्ट कर्मचारीलाई तह लगाउन पनि कदम चाले । थुप्रै भ्रष्ट कर्मचारीमाथि कारबाही पनि चलाए ।

फिलिपिन्सको आन्तरिक राजनीतिमा विगत लामो समयदेखि अमेरिकी प्रभाव छ । विगतका  राष्ट्रपतिभन्दा आफूलाई फरक देखाउँदै डुटेर्टे चीन र रुसतिर नजिकिए । उनले अमेरिकाको कडा आलोचनासमेत गरे ।


अहिले एक करोडभन्दा बढी फिलिपिनो वैदेशिक रोजगारका लागि संसारभरि पुगेका छन् । रेमिट्यान्स अहिले अर्थतन्त्रको प्रमुख आधार बनेको छ । कुनैबेला छिमेकी मुलुकको तुलनामा फिलिपिन्स विकसित र समृद्ध मुलुक मानिन्थ्यो । त्यसैले नै फिलिपिन्सलाई पूर्वको मोती भनिएको थियो तर लामो समयसम्म मुलुकमा सुशासन नहुँदा यो मुलुक पछि प¥यो । फिलिपिन्सको करिब एक चौथाइ जनता गरिबीको रेखामुनि छन् ।  

औपनिवेशिक शासनकालमा स्पेनलगायत अन्य युरोपेली मूलतः व्यापारी थिए । व्यापारमा एकाधिकार कायम गर्न उनीहरूले स्थानीय शासनसत्ता कब्जा गरे, स्रोतसाधन दोहन गरे, सम्पत्ति आफ्नै मुलुक लगे ।

स्वतन्त्रतालगत्तै फिलिपिन्सले प्रगतिको बाटो समात्न खोज्यो तर सन् १९६५ मा फर्डिनान्ड मार्कोस चुनाव जितेर सत्तामा आएपछि भ्रष्टाचार व्यापक भयो । मार्कोसले भ्रष्टाचार गरेको अर्बौं डलर विदेश लगेर थुपारे । भ्रष्टाचार संस्थागत भयो । मार्कोसपछि चुनावबाट राष्ट्रपतिहरू फेरिए । तर पूर्वाधार विकास र औद्योगिकीकरणतर्फ देश अघि बढेन । जनता निराश भए । युवा विदेशिए । उत्पादन वृद्धि भएन । देश परनिर्भर बन्यो ।

अर्कोतर्फ माओवादी सशस्त्र विद्रोह फिलिपिन्सका लागि अर्को चुनौती बनेको छ । सन् १९६९ देखि सुरु भएको यो विद्रोहमा ४५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । 

अब निर्वाचित नयाँ राष्ट्रपति मार्कोस जुनियरलाई पिताका कारण बदनाम भएको विगतलाई सच्याउन जनपक्षीय काम गर्ने अवसर प्राप्त  भएको छ । उनले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी सुशासन, शान्ति र विकासबाट जनतालाई राहत दिनुपर्छ । देश र जनताको पक्षमा राम्रो काम गरे भने उनी लोकप्रिय नेता बन्न सक्नेछन् ।