विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक १४ गते । जेनजीको आन्दोलनको क्रममा फरार भएका दुईजना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर १० निवासी ३५ वर्षीय मनोज पासवान र सोही ठाउँका वडा नम्बर ३ का विजय खड्कालाई पक्राउ गरेको हो ।
पक्राउ परेका पासवान शरीर अङ्गभङ्ग मुद्दामा पुर्पक्षमा रहि दुई वर्ष कैद भुक्तान गरिरहेका जेनजी आन्दोलनको क्रममा नख्खु कारागार काठमाडौंबाट फरार भएका थिए ।
यसैगरी, खड्का लागुऔषध मुद्दामा पाँच वर्ष ६ महिना सजाय पाएकोमा नौ महिना कैद भुक्तान गरेर झुम्का कारागारबाट फरार भएका कैदी हुन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरी अनुसन्धान गर्दा उहाँहरु फरार कैदी भएको खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
उहाँले पक्राउ परेका दुवैजना कैदीलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय सप्तरी राजविराज पठाइएको बताउनुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                