हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), कात्तिक १३ गते । प्रतिकुल मौसमका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ । लिजी–नेचुङ नाका (कोरला)मा तिब्वतको ढोङ्वासेन हुँदै आउने सामानहरू सडकमा बाख्लो हिउँ जमेपछि नाका क्षेत्रमै कन्टेनर सहित मालबाहक सवारीसाधन होल्ड गरिएको छ ।
गएको कात्तिक ४ गतेसम्म भन्सार कार्यालयले ३ अर्ब १४ करोड ४३ लाख ६ हजार ४ सय १ रुपियाँ राजश्व संकलन गरेको थियो । तिहार मनाउन भन्सार एजेन्ड घरमा गएको र हाल हिमपातका कारण नाका क्षेत्रबाट सवारीसाधन भन्सार कार्यालयसम्म आउन सक्ने अवस्था नरहेको भन्सार प्रमुख रमेश खड्काले बताउनुभयो ।
प्रमुख खड्का भन्नुहुन्छ, ‘‘भन्सारमा रहेका मालबाहक सवारीसाधन हिमपातका कारण बाहिरिन सकेका छैनन्,अहिले माथिल्लो क्षेत्रबाट सामान लिएर साना सवारीसाधन पनि झर्न समस्या छ।’’कार्यालय प्रमुख खड्काले चिनियाँ भन्सार कार्यालयबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्म आउने सडकमा हिउँ पन्छाएर भएपनि सेवा दिने बताउनुभयो । गएको कात्तिक ४ गतेसम्मभन्सार कार्यालयले १४ सय ९८ विद्युतीय (ईभी) गाडी, पैठारी तर्फ ६ सय ५७ कन्टेनर सहित मालबाहक ढुवानी साधन जाचपासका साथै निकासीतर्फ ७ मा ट्र«क ढुवानी भएको छ।
समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकामा बाख्लो हिमपात भइरहेको छ । विद्युतीय सवारीसाधन बाहेक इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक लिन गएका मालबाहक ट्रक समेत नाका क्षेत्रमा छन् । भन्सार कार्यालयमा रोकिएका विद्युतीय सवारीसाधनलाई चिसोका कारण सडक मार्गबाट लैजान समस्या भएको छ ।
भन्सार कार्यालयबाट जाँचपास भएका सवारीसाधन समेत १ सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्डमा अनुकुल मौसम नभएसम्मका लागि समस्या छ । सडकखण्डमा उकालोमा हिउँ पग्लिएर चिप्लो हुदाँ साना सवारीसाधन समेत बिग्रिएर सास्ती हुने गरेको छ ।
कोरला नाकामा ब्यवसाय गर्ने छोसेरका पेमा छिरिङ गुरूङले हाल नाका क्षेत्रमा पर्यटकको आगमन न्यून रहेको अवस्थामा सुनसान जस्तै रहेको बताउनुभयो ।गुरूङले भन्नुभयो,‘‘सामान लिन जाने स्थानीयमात्रै धेरै छन्,यसपटक छिटै हिमपात भएको छ, मौसममा सुधार आएपछि चहलपहल सुरू हुन्छ ।’’ जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक १२ गते चिनियाँ भन्सार कार्यालयमा रहेको ब्यापारिक केन्द्रमा ८ जना पुरूष र ६ जना महिला मात्रै ब्यापार गर्न गएका छन् । कोरला नाकामा पर्यटकको चहलपहल घटेपछि ब्यापार गर्न जाने मुस्ताङको संख्या समेत घटेको छ ।