• १३ कात्तिक २०८२, बिहिबार

लुभ्रको गहना चोरीमा मुख्य सहित पाँच जना नयाँ संदिग्ध पक्राउ

blog

पेरिस, कात्तिक १३ गते । फ्रान्सेली प्रहरीले विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयमा यस महिनाको चर्चित गहना डकैतीमा संलग्न ठानिएका पाँच जना नयाँ व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जना मुख्य अभियुक्त रहेको पेरिसका सार्वजनिक अभियोजक लरा बेकुआउले बिहीबार जानकारी दिनुभयो ।

अभियोजक बेकुआउका अनुसार ती मुख्य संदिग्धमाथि प्रहरीले लामो समयदेखि निगरानी राखिरहेको थियो । उहाँले भन्नुभयो, “हामीले उसलाई हाम्रो नजरमा राखेका थियौँ ।” करिब १० करोड २० लाख अमेरिकी डलर मूल्य बराबरका चोरी गरिएका गहनामध्ये कुनै पनि वस्तु हालसम्म बरामद गर्न नसकिएको उहाँले बताउनुभयो ।

बेकुआउका अनुसार डिएनए प्रमाणले उक्त मुख्य अभियुक्तलाई अक्टोबर १९ मा भएको निर्भीक चोरीसँग सीधारूपमा जोडेको छ । ती व्यक्ति चार सदस्यीय टोलीका एक थिए, जसले अत्याधुनिक उपकरण र योजनाबद्ध तरिकाले चोरीको कार्य सञ्चालन गरेका थिए । अभियोजकले भन्नुभयो, “अन्य पक्राउ परेका ती व्यक्ति हुन्, जसले घटनाको क्रम र सञ्चालनबारे अनुसन्धानकर्तालाई उपयोगी जानकारी दिन सक्ने सम्भावना छ । अहिले नै विस्तृत विवरण दिनु उचित हुने छैन ।”

पाँचै जनालाई बुधबार पेरिस र वरपरका क्षेत्रमा, विशेष गरी राजधानी बाहिर रहेको सेन–सेन्ट–डेनिस क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि गत शनिबार पक्राउ परेका दुई अन्य व्यक्तिलाई पनि बुधबार चोरी र आपराधिक षड्यन्त्रको आरोप लगाइएको अभियोजन कार्यालयले जनाएको छ । ती दुवै जनाले ‘आंशिकरूपमा’ आरोप स्वीकार गरेका छन् र उनीहरूलाई पूर्व-परीक्षण हिरासतमा राखिएको छ ।

फ्रान्सेली प्रहरीका अनुसार दर्जनौँ जासुसको टोली अहिले पनि ती चारजना मुख्य चोरको खोजीमा खटिएको छ । ती व्यक्तिले चल्ती लिफ्ट र काट्ने उपकरणयुक्त ट्रकको प्रयोग गरी सङ्ग्रहालयको पहिलो तलाको ग्यालरीमा प्रवेश गरेर आठ वटा अत्यन्त बहुमूल्य गहना लिएर भागेका थिए । चोरी गरिएका वस्तुमध्ये एक पन्ना र हीराले जडित हार पनि रहेको बताइएको छ । यो नेपोलियन प्रथमले आफ्नी पत्नी महारानी मेरी-लुइसलाई उपहार दिएका थिए । 

त्यसैगरी, महारानी युजेनीको मुकुट पनि चोरी भएको पुष्टि भएको छ । यसमा करिब दुई हजार हीरा जडित छन् । फ्रान्सेली अधिकारीले चोरीमा संलग्न सम्पूर्ण समूहको पहिचान र चोरी गरिएका अमूल्य ऐतिहासिक गहनाको पुनः प्राप्तिका लागि विस्तृत अनुसन्धान जारी रहेको बताएका छन् । रासस/एएफपी