काठमाडौँ, कात्तिक १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण-पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवन अस्थायीरुपमा बनाइँदै गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन बन्दैछ । बाँकी खाली रहेको भवनमा रङ लगाएर कार्पेटिङ गरेर बस्ने योजना छ ।”
प्रवक्ता बुढाथोकीले दुई हप्ताभित्र संरचना तयार गरी स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी भइरहेको र मङ्सिर १ गतदेखि सम्भवतः सरिसक्ने बताउनुभयो । “सिंहदरबारभित्र रहेको नयाँ संसद् भवन बनेपछि अहिलेको संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयको स्थायी संरचनाको रूपमा पायौँ भने त्यहाँ सर्छौैँ । त्यसका लागि पनि छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।
भदौ २४ गते जेनजी आन्दोलनको आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो । हाल मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ । रासस