• १३ कात्तिक २०८२, बिहिबार

भीरबाट खसेकाे ढुङ्गा लागेर मनास्लु पुगेका पर्यटक घाइते

blog

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक १३ गते । मनास्लु क्षेत्र घुम्न गएका आन्तिरिक पर्यटक काठमाडौंको टोखा नगरपालिका-६ का ४४ वर्षीया मिनु इन्द्र लम्साल भीरबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएको छ।

बिहिबार बिहान ११ बजे चुमनुब्री गाउँपालिका–५ बिहिमा पैदल हिँडिरहेकाबेला लम्सालाई अचानक भीरबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार गम्भीर घाइते लम्सालको टाउकोमा चोट लागेकाले उहाँको उपचारको लागि बिहि स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली पनि घटनास्थलतर्फ लागेको हो । 

घाइते लम्सालको साथी बिशाल लम्सालले दुर्घटना हुनेबित्तकै प्रहरीलाई खबर गर्नु भएको थियो, प्रहरी नायब उपरीक्षक श्रेष्ठले भन्नुभयो, तत्कालै इलाका प्रहरी कार्यालय लार्के गोरखाबाट प्र स नि याम बहादुर दरैको नेतृत्वमा प्रहरी टोली खटिएर घटनास्थलतर्फ पठाइएको छ । 

उक्त घटनास्थल इलाका प्रहरी कार्यालय लार्केबाट दशिण तर्फ पर्ने ४ घण्टा पैदल पर्ने भएकाले प्रहरी टोली पुग्न केहि ढिलाई हुने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।