लक्ष्मण पौडेल
भैरहवा, कात्तिक १३ गते । रुपन्देहीमा १३ वटा उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दाबोल्दै ढल्नुभएका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
अचानक ढल्नुभएका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याइएकोमा त्यहाँ उहाँको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले पुष्टि गर्नुभएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतम बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रुपमै आन्दोलनमा सहभागी हुने बताउनुभएको थियो । धर्ना कार्यक्रममा बोल्दै उहाँ केही आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएको थियो । उहाँले सरकारले उद्योगहरुलाई फसाएको आरोप लगाउँदै श्रमिकहरुलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्नुभएको थियो ।
उहाँले उद्योगीहरुले नियमित रुपमा मासिक रुपमै विद्युत् महसुल तिर्दै आएकोमा एक्कासि चार वर्षको बिल थमाउँदा उनीहरु पीडित भएको बताउनुभएको थियो । “आम जनमानसमा भ्रम सृजना गरेर उद्योगीहरुले ठगेका छन् भन्ने पारिएको छ, म यहींबाट प्रमाण दिन चाहन्छु उद्योगपतिले ठगेको छैन”, उहाँले भन्नुभयो, “सरकार र विद्युत प्राधिकरणको गैर जिम्मेवारीपनको कारणले यो भएको हो, यो पैसा विद्युतका कर्मचारीहरुले आफ्नो खल्तीबाट तिर्नुपर्छ ।”
उहाँले यो आन्दोलनलाई साङ्केतिक रुपमा मात्र लिन जरुरी रहेको र २५ हजार श्रमिकहरुको रोजगारी गुम्दै गएको बताउनुभयो । उहाँले श्रमिकहरुलाई गुमाउन नचाहेको बताउँदा बताउँदै उहाँको बोली लरबरिएको थियो । “अतः यो कारणले.......” भन्दै गर्दा उहाँ ढल्नुभयो । गौतम ढले लगत्तै उपचारको लागि उहाँलाई क्रिमशन अस्पताल पुर्याइएको थियो । जहाँ उहाँको मृत्यु भयो ।
अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवेले अस्पतालमा ल्याउने क्रममै उहाँको मृत्यु भैसकेको बताउनुभयो । “हृदयघातका कारण नै उहाँको मृत्यु भएको हुन सक्छ,” उहाँले भन्नुभयो ।