• १३ कात्तिक २०८२, बिहिबार

नियमित सेवा सुचारु गर्न बारको भवन जिल्ला अदालत बाँकेलाई हस्तान्तरण

blog

नियमित सेवा सुचारु गर्न जिल्ला अदालतलाई हस्तान्तरण गरिएको बारको भवन । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक १३ गते । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते गरिएको आगजनी र तोडफोडबाट ध्वस्त भएको जिल्ला अदालत बाँकेका नियमित सेवाहरु सुचारु गर्न बार एशोसियसनको कार्यालय भवनको तल्लो तला जिल्ला अदालतलाई हस्तान्तरण गरिएको छ । 

आगलागिबाट जिल्ला अदालत बाँके जलेर पूर्ण रुपमा ध्वस्त भएपछि नियमित सेवाहरु सुचारु गर्नका लागि जिल्ला र उच्च अदालत बारको संयुक्त भवनको तल्लो तलालाई हस्तान्तरण गरिएको उच्च अदालत बार एशोसियसन नेपालगन्जका अध्यक्ष चित्र बहादुर शाहीले बताउनुभयो । 

उहाँले बारको भवन पनि आन्दोलनको क्रममा छतिग्रस्त भएको जनाउँदै बारले आफ्नै पहल र स्रोतसाधनबाट आफ्नो भवन मर्मत सम्भार गरी सर्वसाधारणको सहजताका लागि सेवा सुचारु गर्न जिल्ला अदालत बाँकेलाई हस्तान्तरण गरिएको बताउनुभयो । 

उच्च अदालत बार एशोसियसन नेपालगन्जका अध्यक्ष शाहीले बारको पुनर्निर्मित भवनको तल्लो तलालाई हस्तान्तरण गरिएको जनाउँदै थप्नुभयो–“सरकारी संरचना ध्वस्त भएको कठिन अवस्थामा पनि बारले आफ्नो स्रोत र श्रमबाट आफ्नो भवन मर्मत सम्भार गरी न्यायिक सेवालाई निरन्तरता दिन अदालतलाई दिएर सहयोग गरेको हो ।” उहाँले यो कार्य कानुन व्यवसायीहरुको ऐक्यबद्धता र न्यायप्रति प्रतिबद्धताको उदाहरण बन्न सफल भएको पनि बताउनुभयो । 

आगलागिले न्यायपालिकामाथि परेको गम्भीर क्षतिपछि बारको यो पहलले पुनः न्यायिक सेवा सहज बनाउन सहयोग पु¥याएको वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले बताउनुभयो।

जिल्ला अदालतले बारको सो भवनबाट सेवा सुचारु गर्न अहिले  आवश्यक फर्निचर र सेटअप लगाउने काम गरिरहेको छ । सो भवनबाट आगामी आइतवारदेखि सेवा सुचारु गरिने तयारी भइरहेको जनाइएको छ । 

भदौ २४ गते भएको आगजनीमा अदालत परिसरका महत्वपूर्ण कागजात, संरचना र उपकरण जलेका थिए । सो घटनापछि न्यायिक सेवाहरु अस्थायी रूपमा स्थगित गरिएको थियो ।

हाल, बार एशोसियसनको पहलले सेवा पुनः नियमित गर्दा न्यायिक कामकाज सहज भइ पीडित पक्षहरुलाई राहत पुगेको कानुन व्यवसायीहरुको भनाइ छ । गत भदौ २४ गतेको घटनामा जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलास पूर्ण रूपमा जलेर ध्वस्त भएका थिए । सो आगजनीमा अदालतसँगै उच्च अदालत बार एशोसियसन नेपालगन्ज र जिल्ला अदालत बार एशोसियसनको भवन पनि क्षतिग्रस्त भएका थिए ।