काठमाडौँ, कात्तिक १३ गते । प्रधानमन्त्रीको स्वकीय सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा केही सञ्चारमाध्यममा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिएको भन्ने समाचारहरू पूर्णतः भ्रमपूर्ण र तथ्यहीन भएको जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र पर्ने विषय भएकाले कुनै दबाब वा प्रभावका आधारमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट गरिएको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुसार यो सरकार गठन भएको हो। असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्यालले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर खटिरहनुभएको छ, जुन सबैलाई विदितै छ।”
प्रधानमन्त्रीको स्वकीय सचिवालयले संवेदनशील परिस्थितिमा यस्ता अफवाहहरू नफैलाउन र नपत्याउन सम्बन्धित सबै पक्षसँग अनुरोध पनि गरेको छ।
