गुणबहादुर रोका
सुलीकोट, कात्तिक १३ गते । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा करु काट्न सुरु भएको छ । ३१ सय मिटर उचाइमा रहेको नुब्री भ्यालीमा लगाइएको करु चम्पा, सातु, खोले र ढिँडो बनाएर खानका लागि उब्जनी हुने मुख्य बाली करु काट्न सुरु भएको चुमनुब्री गाउँपालिका– २ ल्होका साङदोर्जे लामाले जानकारी दिनुभयो ।
हिमाल पारीको गाउँपालिका चुमनुब्रीमा करुको विशेष महत्त्व छ, साङदोर्जे लामाले भन्नुभयो, ‘‘उत्तरी गोरखाको मुख्य बाली हुनुका साथै स्वास्थ्य अवस्थालाई ख्याल गर्दै हिमाली भेगका करु स्वादिलो, पोषिलो हुने भएकाले उत्तरी गोरखा आइपुग्ने पर्यटक र काठमाडौँमा बस्नेहरुको माग उच्च छ ।’’
करु खेती विशेष गरी साउन र चैतमा रोप्ने गरिन्छ । उच्च हिमाली भेगमा हावापानीका कारण तीन हजार मिटरभन्दा माथि वर्षमा दुई पटकमात्र खेतीबाली लगाएर करु चैतमा लगाएको करु असारमा र साउनमा लगाएको करु कात्तिकमा काटिन्छ ।
‘‘उत्तरी गोरखामा करु काट्न भ्याइनभ्याइ छ,’’ लामाले भन्नुभयो, ‘‘नुब्री भ्यालीका अधिकांश किसानहरुको मुख्य पेशा करु खेती भएकाले केही दिनदेखि यता हिमपात भएपछि हिउँले ढाकिएर करु काट्न नपाइएको हो ।’’
उत्तरी गोरखमा करुको सातु काठमाडौँ लगायतका शहरहरुमा अत्यधिक मात्रा बिक्री वितरण हुने भएकाले पनि करु खेतीको विशेष महत्त्व उत्तरी गोरखामा मान्ने गरिन्छ । उक्त खेतीले आफ्नो परिवारलाई खाना पनि हुने र आर्थिक उपार्जनमा पनि सहयोग पुग्ने गरेको लामाको भनाइ छ ।