• १३ कात्तिक २०८२, बिहिबार

पूर्वसूचनाबाट सचेत बन्दै पर्यटक

blog

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), कात्तिक १३ गते ।  जल तथा मौसम विज्ञान विभागले उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपातसम्बन्धी पूर्वसूचनाका कारण मुस्ताङ प्रवेश गर्ने पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या घटेको छ । स्वदेशी पर्यटकले खचाखच भरिएका मुस्ताङमा एक्कासि प्रतिकूल मौसमको सूचनासँगै पोखरा–बेनी हुँदै मुस्ताङ प्रवेश गर्नेभन्दा फर्किने बढेका छन् । जिल्ला प्रहरी कार्यालय घाँसा चेकपोस्टको तथ्याङ्कमा कात्तिक १२ गते मङ्गलबार सडक सञ्जालबाट चार हजार २३१ जना र मनाङ जिल्ला हुँदै थोरङला पास गरी १४९ जना गरी चार हजार ३८० जना मुस्ताङ प्रवेश गरेका थिए । अहिले सडक मार्ग हुँदै चार हजार ९८५ जना बाहिरिएका छन् । कुल सवारीसाधन ६९७ प्रवेश गरेकोमा घाँसाबाट ७४७ बाहिरिएकोमा उपल्लो मुस्ताङमा ११ सवारी साधन प्रवेश गरी १५५ बाहिरिएका छन् । 

अत्यधिक हिमपात भएका कारण ल्होमन्थाङ गाउँपालिका–१, नेचुङ भन्सार तथा कोरला नाकाबाट चिनियाँ भन्सार कार्यालयमा रहेको व्यापारिक केन्द्रमा व्यापारका लागिसमेत मुस्ताङीलाई जान समस्या भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो । प्रनाउ लामाले भन्नुभयो, “उपल्लो मुस्ताङ घुम्न गएका पर्यटक मौसमको सूचनाका कारण फर्किने धेरै हुनुहुन्छ, पूर्वसूचनाको आधारमा गन्तव्यबाट फर्किने पर्यटकले गर्दा अलपत्रमा परेका खबर आउन पाएन ।” जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना जारी गरेपछि कात्तिक १० गते मुस्ताङमा आठ हजार ७४९ जना सडक, पदमार्ग तथा हवाइमार्गबाट प्रवेश गरेकोमा नौ हजार ८७५ जना बाहिरिएका थिए । 

कात्तिक ९ गतेसम्म दैनिक ११ हजारभन्दा बढी पर्यटक भित्रिएको मुस्ताङमा हिमपात र वर्षको सूचनापछि पर्यटकको आगमन घटेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले बताउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो, “मौसमको सूचना हेरेर आउने पर्यटक धेरै हुनुहुन्छ, पूर्वसूचना पालना गर्दा सङ्कट टर्छ ।” जिल्ला प्रशासन कार्यालय मुस्ताङले मङ्गलबारदेखि उच्च हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई अपिल गरेको थियो । 

आगामी शुक्रबारसम्म सचेत हुन अनुरोध गरेपछि मुस्ताङ पुगेका पर्यटकसमेत होटेलमै सुरक्षित बसेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो । प्रजिअ भुषाल भन्नुहुन्छ, “मौसमको सूचनालाई पालना गर्दा पर्यटकले सास्ती खेप्नु परेको छैन, मौसम अनुकुल भएपछि हामीले नै सूचनामार्फत पर्यटकलाई स्वागत गर्छौं ।” प्रजिअ भुषालका अनुसार पदयात्रा तथा मुक्तिनाथ मन्दिरमा आउनुभएका पर्यटकलाई सुरक्षित साथ फर्काउन सडक तथा आवश्यक समन्वय भइरहेको छ । उच्च हिमाली क्षेत्रमा पर्ने मुस्ताङ–डोल्पाको पाँच हजार आठ सय मिटरको उचाइमा रहेको याकखर्क क्षेत्र, पाँच हजार चार मिटरको मुस्ताङ–मनाङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकङलगायतका क्षेत्रमा नयाँ पर्यटक प्रवेश नगरेको अवस्थामा पदयात्रामै रहेका सुरक्षित रहेको प्रजिअ भुषालले जानकारी दिनुभयो । मुस्ताङमा भित्रिने अधिकांश स्वदेशी पर्यटक प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गरेको अवस्थामा हिमपात भएपछि जोमसोम, कागबेनी, रानीपौवा क्षेत्रमा रहेका तीर्थालुले मात्रै दर्शन गरेको र नाकाबाट निकै कम आएका छन् । 

बेलायतबाट घर बिदामा आउनुभएका नेत्रमान गर्बुजाले हिमपात र वर्षाको सूचनापछि मुक्तिनाथ मन्दिरको हतार हतार दर्शन गरी अन्य पर्यटकीय स्थलमा जाने पूर्वयोजनालाई स्थगित गरी फर्किएको बताउनुभयो । मुस्ताङको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटक थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलमा जाने गरेका छन् । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे सवारी साधनमा जाने पर्यटक बढेका छन् । छठ लगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै घट्छ । लेतेदेखि माथि ल्होमन्थाङसम्म करिब तीन सय सानाठुला होटेल सञ्चालनमा छन् ।