गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १३ गते । नेपाल टेलिकमले देशका सबै अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा निःशुल्क वाइफाई उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्गलबारदेखि यस्तो सेवा सुरु गरेको हो । सो अभियान अन्तर्गत कम्पनीले पहिलो चरणमा मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा निःशुल्क वाइफाई आरम्भ गरेको छ । उक्त सुविधा अन्तर्राष्ट्रिय विमानस्थलको आगमन, प्रस्थान, विशिष्ट कक्ष तथा प्रतीक्षास्थललगायतका क्षेत्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो सेवा सञ्चालन सम्बन्धमा कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार टेलिकमले देशभर सञ्चालनमा रहेका तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित निःशुल्क इन्टरनेट सुविधा क्रमशः उपलब्ध गराउने छ ।