• १८ असार २०८१, मङ्गलबार

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहाेर

blog

काठमाडौँ,  असार १९ गते । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहाेर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै  पैदलमार्ग (फुटपाथ) मा थुपार्ने गरेको छ । 

काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहाेर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहाेर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहाेर थुपार्न बाध्य भएको बताउनुहुन्छ ।

फोहाेरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहाेर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआउनुभएका रामचन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

राजधानीको अन्य भागमा फोहाेर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहाेर थुपार्ने गरेको उहाँले बताउनुभयो । महानगरपालिकाले फोहाेर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ । 

महानगरपालिकाले कुहिने र नकुहिने फोहाेर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहाेर एकै ठाउँमा राखेर फालेको देखिन्छ । महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहाेर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।