• १० कात्तिक २०८२, सोमबार

स्मारकमा पर्यटकको आकर्षण

blog

स्मारक क्षेत्रमा देखिएको बाह्य तथा आन्तरिक पर्यटकको भिडभाड । तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता

हेटौँडा, कात्तिक १० गते । हेटौँडाको सहिद स्मारकमा आन्तरिक तथा बाह्य पर्यटकको भिड बढेको छ । तिहारपछि घुम्न निस्कने पर्यटकले हेटौँडा–११ मा रहेको सहिद स्मारक भरिभराउ हुनथालेपछि स्थानीयको व्यापार व्यवसायमा वृद्धि भएको छ ।

जेनजी समूहको आन्दोलनपश्चात् एक महिना बन्द रहेको स्मारक सर्वसाधारणका लागि खुला भएसँगै पर्यटकको घुइँचो लागेको स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताउनुभयो । “सुरक्षाका कारण हामीले केही समय स्मारक बन्द ग¥यौँ, अहिले सञ्चालनमा आएसँगै पर्यटकको बाक्लो उपस्थिति छ । परिवार र साथीभाइसँगै सुक्खा पिकनिक आउने र रमाइलो गर्नेको आकर्षण केन्द्र बनेको छ,” कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो । 

स्मारकमा अहिले दैनिक ४० समूहसम्म पिकनिक मनाउन आउने गरेको जानकारी दिँदै उहाँले छठपछि अझै पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो । “दसैँ, तिहार र छठपछि मङ्सिर अन्तिमसम्म यहाँ आउने पर्यटकको बाक्लो उपस्थिति रहन्छ, झन् शनिबार सयभन्दा बढी पिकनिक खान आउने समूह हुन्छन्,” न्यौपानेले थप्नुभयो । 

विशेष गरेर स्थानीय पर्यटकसँगै यहाँ तराईबाट धेरै पर्यटक आउने गरेका छन् । तिहारपछि मात्रै सात हजारभन्दा बढी पर्यटकले स्मारकको भ्रमण गरेको उहाँले बताउनुभयो । अहिले दैनिक एक हजार पर्यटकले स्मारक अवलोकन भ्रमण गर्ने गरेको जानकारी दिनुहुँदै स्मारकमा घुम्ने र हेर्ने थप संरचना बनेसँगै आकर्षण बढ्दै गएको उहाँको भनाइ छ ।

स्मारकमा बत्ती जडानसँगै सौन्दर्यीकरण गरिएपछि राति पनि पर्यटकको उपस्थिति रहने गरेको छ । गत नयाँ वर्षदेखि राति दस बजेसम्म स्मारक खुला भएपछि स्थानीय पर्यटक झनै बढेको न्यौपानेले बताउनुभयो । २०३७ सालतिर गौचरणका रूपमा रहेको सो क्षेत्रको स्मारकका रूपमा विकास भएसँगै अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको हो । स्मारक परिसरमा पर्यटक एकैसाथ बस्न, घुम्न र फोटो खिच्न मिल्ने गरी आकर्षक बगैँचा, आर्कब्रिज, आराम गर्ने कुर्सी र वरपिपल चौतारीसहितको मैत्रीपार्क, मालाकार क्यारी, आधुनिक झोलुङ्गे पुल, झरना पार्क, पौडी पोखरी, बालबालिकाका लागि मनोरञ्जन पार्क निर्माण गरिएको छ । 

यहाँ करिब तीन बिघा क्षेत्रफलमा चिडियाघर रहेको छ । ठुलो चरा अस्ट्रिजसहित जीवजन्तु रहेका छन् । स्मारकमा बुद्धपार्कसमेत निर्माण गरिएको छ । यहाँ गौतम बुद्ध जन्मेपछि हिँडेको, बुद्धकी माता मायादेवी, ब्रह्मा र इन्द्रदेवको मूर्तिसमेत रहेको छ । धरहरा पार्क, ६५ फिट अग्लो र १९ मिटर चौडाइको सहिद स्तम्भ, पिकनिक स्थल, रजतजयन्ती स्तम्भ, नर्सरी ग्रिन हाउस, फोहोरासहितको पार्क, प्रेमलाल स्मृति प्रतीक्षालय, विश्रामस्थल, वाल उद्यान, आवासीय सेमिनार हल, धार्मिक अनुष्ठान तथा विवाह व्रतबन्धका लागि विवाह मण्डप निर्माण गरिएको छ । जनजातिको भेषभूषासहितको जातीय सङ्ग्रहालय, बगैँचालगायतका थप संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मकवानपुर, बारा, पर्सा, रौतहट, चितवनसहित बागमती प्रदेशका विभिन्न जिल्लाबाट दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।