• १० कात्तिक २०८२, सोमबार

गुफाडाँडामा पार्क निर्माण गरिँदै

blog

मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित पर्यटकीय क्षेत्र गुफाडाँडा ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, कात्तिक १० गते । पर्यटकलाई धार्मिक एवं सांस्कृति पक्षको जानकारी गराउने उद्देश्यले मेलम्चीको ज्यामिरेमा गुफाडाँडा पर्यटन पार्क निर्माण गर्न लागिएको छ ।  

गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउनका लागि मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई करोड रुपियाँ विनियोजन गरेको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गुफाडाँडालाई मेलम्ची नगरको पर्यटकीय गन्तव्य बनाउन अहिले विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य सुरु भएको छ । 

पर्यटनबाट समृद्धि हासिल गर्र्ने लक्ष्य नगरले लिएकाले बजेट विनियोजन गरेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । गुफाडाँडामा बुद्ध छ्योर्तेन र डम्फुपार्क निर्माणका लागि तीन करोड रुपियाँ लागत अनुमान गरिएको प्रमुख तामाङले बताउनुभयो । स्थानीय समुदायलाई समेटेर गुफाडाँडामा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको सङ्गम बनाएर मेलम्चीवासी र गुफाडाँडावासीको जीवनस्तर उकास्ने योजना रहेको उहाँले बताउनुभयो । 

गुफाडाँडाबाट जुगल हिमाल, मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका मनोरम दृश्य देखिन्छ । रमणीय र समथर स्थानमा गुफाडाँडा क्षेत्र फैलिएको छ । शेर्पा र तामाङ समुदायको बसोबास रहेको यस क्षेत्रमा जडीबुटी, हिमाली जीवजन्तु तथा पशुपन्छी पाइन्छन् । हिमाल, पहाड र तराई क्षेत्रको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । पाँचऔँले, जटामसीलगायतका हिमाली जडीबुटी पाइने गुफाडाँडामा रेडपाण्डा, मृग, हरिण, दुम्सीलगायतका जनावर भेटिन्छ । गुफाडाँडाको प्राकृतिक रमणीय स्थलमा पर्यटकलाई भित्र्याउन सकेमा यस क्षेत्रको विकासमा टेवा पुग्ने नगरपालिकाले लक्ष्य लिएको छ ।

गुफाडाँडालाई धार्मिक, सांस्कृतिक नगरी बनाउन नगरप्रमुख तामाङले आफू निर्वाचित भएपछि सङ्घीय सरकार र बागमती प्रदेश सरकारसँग पटक पटक बजेट माग गरेको बताउनुभयो । सङ्घ र प्रदेशले आश्वासन मात्रै दिँदै आएपछि आगामी बजेटमा नगरपालिकाबाटै दुई करोड रुपियाँ विनियोजन गरेर पर्यटकीय क्षेत्र बनाउन लागिएको प्रमुख तामाङले बताउनुभयो । बहुवर्षीय योजना अन्तर्गत पर्यटकीय नगरी बनाउन कार्यप्रारम्भ गरिएको नगरप्रमुख तामाङले बताउनुभयो ।

गुफाडाँडा, भोटेचौर, तपचुली, धौले, चियाबगान लगायतका पर्यटकीय क्षेत्र समेटेर मेलम्ची, हेलम्बु, पाँचपोखरीसम्मलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नगरपालिकाले योजना अघि सारेको छ । गुफाडाँडामा मेलम्ची नगरपालिकाले प्रत्येक वर्ष जलवायु दिवस मनाउन थालेको छ ।